जनकपुरधाम, ७ भाद्र । खाजामा च्यूरा–भुजा र पातलो पानीजस्तो तरकारीको झोल दिएपछि संक्रमितले धनुषाको गंञ्गुली स्थित आइसोलेसनबाट धमाधम भिडियो फुटेज र फोटो समाजिक सञ्जाल राखिरहेका छन्। उक्त भिडियो र फोटो भाइरल बन्दै छ।
आइसोलेसन सुधारको मागसहित कोभिड पोजिटिभ स्टाफ नर्स, अनमी तथा अस्पतालकै कर्मचारीले आन्दोलन गरे। त्यसलगत्तै प्रदेश सरकारका एक मन्त्रीले र उपचारमा खटिएका चिकित्सकले खाजा र खानामा सुधार ल्याउने आश्वासन दिए। तर भोलिपल्टै पुनः आइसोलेसनका बिरामीलाई बासी तरकारी खुवाइयो। आइसोलेसन भवन बाहिरबाट पर्खालसहित रङरोगन गरिएको झट्ट हेर्दा आकर्षक र भव्य छ। भित्रको सेवा सुविधा राम्रै मानेर कोभिड बिरामी भित्र पस्छन् तर भित्रको अवस्थाले बिरामी निकै कष्ठ भोगिरहेका छन् ।
आइसोलेसन कोठाभित्र नपुग्दै भद्रगोल व्यवस्थापन देखेर नयाँ आउने संक्रमित झस्किन्छन्। गत चैत १४ देखि क्वारेन्टाइनबाट आइसोलेसनमा परिणत गरिएको धनुषाको नगराइन नगरपालिका गंगुली स्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा खाना र खाजाको कुरै छोडौं बस्नसमेत समस्या भएको संक्रमित राकेश साहले बताए। ‘प्रदेश सरकारले सञ्चालन गरेको आइसोलेसनमा न समयमा खाना पाइन्छ, न त खाजा नै। दिएको खाना पनि खान सकिंदैन । झन शौचालय त गइसक्नु हुँदैन।’ यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।