
काठमाडौं, ७ भाद्र । राजनीतिक पृष्ठभुमीका पूर्व गभर्नर डा. युवराज खतिवडा साँढे दुई वर्ष मन्त्री बनेर सरकारबाट बिदा हुने निश्चित भएको छ । उनी सांसद नभएकाले भदौ तेस्रो हप्ताबाट स्वतः पदबाट हट्नेछन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक राष्ट्रियसभा सदस्य मनोनित गर्न बाँकी भएपनि डा. खतिवडाले मौका नपाउने बुझिएको छ ।
अर्थ र सञ्चार तथा सुचना प्रविधिको समेत जिम्मेवारी सम्हालेका डा. खतिवडाले आफ्ना निकटस्थलाई अब आफू बिदा हुन लागेको शुक्रबार निकटस्थलाई जानकारी गराएको विश्वस्त स्रोतले बताएको छ । उनले जाँदा जाँदै आफ्ना मान्छेहरुको व्यवस्थापन समेत गर्न थालेको बुझिएको छ ।
‘अब म बिदा हुने बेला हुनलाग्यो,’ डा. खतिवडाको भनाई उदृत गर्दै विश्वस्त स्रोतले भन्यो । उनले नेकपाभित्रको विवाद मिलाउने क्रममा अरु कोही राष्ट्रियसभामा मनोनित हुने समेत बताएको स्रोतले जानकारी दियो ।
नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयार भइरहँदा राष्ट्रियसभामा बामदेव गौतमको मनोनयन हुने सम्भावना बढेको छ । गौतमलाई राष्ट्रियसभामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रस्ताव गरिसकेका छन् ।
पूर्व गभर्नर डा. खतिवडासँग प्रशासनिक क्षेत्रको लामो अनुभव भएपनि राजनीतिक अनुभव छैन । उनीसँग राजनीतिक अनुभव नभएकाले नेकपाभित्रै उनीप्रति असन्तुष्टि व्याप्त थियो ।-File Photo