प्रभात सिंहः अहिले सँसारमा ३० प्रकारका कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानव परीक्षण भइरहेको छ । सँसारका हजारौं स्वयंसेवकहरु परीक्षणमा सहभागी भइरहेका छन् । तिव्र गतिमा चलिरहेको भ्याक्सिनको विकासले नयाँ आशा जगाएको छ ।
भ्याक्सिनको परीक्षण तिव्र गतिमा भएपनि यसको परिणाम आउन भने समय लाग्नेछ । भ्याक्सिन लगाइएका व्यक्तिमा देखिएको प्रभावको परीक्षण गर्नुपर्ने र त्यसका आधारमा मात्र सफल या असफल भएको टुंगो लाग्न सक्छ । भ्याक्सिन विकास निकै कठिन मात्र छैन सुरक्षित र प्रभावकारी भएको प्रमाणित गर्न झन् कठिन छ ।
रुसले तेस्रो चरणको परीक्षण अगावै स्पुतनिक भी नामको कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गरिसकेको छ । रुस भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको छ । गेमिलिया कम्पनिको भ्याक्सिन यसै हप्ताबाट जनसमुदायमा प्रयोग हुने घोषणा भइसकेको छ । प्रारम्भमा स्वास्थ्यकर्मी, सैनिक जस्ता अग्रपंक्तिमा रहेर काम गर्नेले पाउनेछन् ।
अहिले अन्तिम मानव परीक्षणको चरणमा रहेका अग्रपंक्तिका भ्याक्सिनहरुमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी र अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् ।
रुसले भ्याक्सिन दर्ता गरेकोमा पश्चिमा देशहरुले आलोचना गरेका छन् । रिसर्च तथ्यांक सार्वजनिक नगरी भ्याक्सिनको दर्ता गरेको उनीहरुको भनाई रहेको छ । तर, रुसले यस्तो आलोचनालाई बेवास्ता गरेको छ । बरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छोरीमाथि नै भ्याक्सिनको परीक्षण भएको स्वयं पुटिनले खुलासा गरे ।
चीनको क्यानसिनो कम्पनिले पनि भ्याक्सिन प्रयोगको अनुमोदन गरेको छ । तेस्रो चरणको मानव परीक्षणको अन्तिम चरणमै सैनिकमाथि भ्याक्सिन प्रयोगको अनुमती पाएको थियो ।
विश्व स्वास्थ्य संगठनले विश्वभर एक सय ६० भन्दा बढी प्रकारका भ्याक्सिन विकासको चरणमा रहेको उल्लेख गरेको छ । छ वटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणमा रहेसँगै डब्लुएचओ उत्साही भएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अडानोम घेब्रेयससले भ्याक्सिनको तिव्र विकास भइरहँदा अबको एक वर्षभित्र सँसारबाट कोरोना भाइरसको अन्त हुने विश्वास व्यक्त गरेका छन् । गत हप्ता बोल्दै उनले प्रविधिको विकासका कारण यस्तो अवस्था आउने तर्क गरे ।
विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहँदा विभिन्न देशहरुले जतिसक्दो छिटो भ्याक्सिन प्राप्त गर्न पहल गर्न थालेका छन् । अष्ट्रेलियाले बेलायतमा बनिरहेको भ्याक्सिन सफल भएमा आफ्ना जनताका लागि खरिद गरी सित्तैमा लगाइदिने सम्झौता गरिसकेको छ । फिलिपिन्स, मेक्सिको जस्ता देशहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तयारी थालिसकेका छन् । नेपालले पनि भ्याक्सिन विकास भएसँगै जतिसक्दो छिटो ल्याउन पहल गरेको खुलाइसकेको छ ।
विश्वमा यति धेरै भ्याक्सिन विकास भइरहे पनि सबै सफल हुनेमा आशंका छ । भ्याक्सिन विकास सहज होइन र यसलाई प्रमाणित गर्न पनि कठिन हुन्छ । त्यसमाथि फाष्ट ट्रयाकमा बनिरहेका भ्याक्सिनको विश्वसनीयतामाथि प्रश्न उठाउन थालिएको छ । यसकारण सबै भ्याक्सिन सफल, प्रभावकारी र सही नहुन पनि सक्छ ।-एजेन्सीको सहयोगमा