मोरङ, ७ भाद्र । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार एकजना व्यक्ति पक्राउ परेका छन् । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहारका प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाईट्रोसन र ५१ चक्की नाईट्राभेट सहित यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लाहरुमा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढीका मन्दिप तामाङलाई मेड ईन युएसए लेखेको अटोमेटिक पेस्तोल र ४ थान उक्त पेस्तोलको गोली सुनसरी ईटहरी खनारका शुशिल कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए । सो क्रममा मन्दिप र शुशिललाई विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा चलाएको र उक्त हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाईके यादव रहेको खुल्न आएको थियो ।
यसैगरी २०७५ मंसिर ८ गते उनले विराटनगर बिध्यानन्द मण्डल र अनुप गिरीलाई ३ सय ८० एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, १ सय ५ ग्राम १ सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र २ राउण्ड गोली समेत विराटनगरस्थित बसपार्कमा सुनसरी धरान घर भएका ललितपुरको एकान्तकुनामा बस्दै आएका रुपम राईले पाउने गरी दिई पठाएका थिए ।
सो घटनामा संलग्न ३ जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा सो हातहतियार र लागूऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाईके समेत यादव रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।