बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशभित्र काठमाडौंभन्दा बाहिरका जिल्लामा बेड, आइसोलेसन, अस्पतालको अभावमा मान्छेहरुले दुःख पाउनुनपरेको अवस्था सुनाए । आज बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको तर्फबाट चाल्नसक्ने किसिमका कदमहरू चालिएको र कुनै कमी हुन नदिइएको दाबीसमेत गरेका छन् । उनले भनेका छन्,यो संक्रमण देशव्यापीमात्र नभएर विश्वव्यापी रूपमा नै फैलिएको छ । यसको नियन्त्रण गर्न त्यतिनै चुनौतीपूर्ण छ । यसका निमित्त हामीले अनगिन्ती प्रयासहरू गरिरहेका छौँ । प्रस्तुत छ मुख्यमन्त्री पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:
बाग्मती प्रदेशमा कोरोनाको संक्रमणको अवस्था के छ ? रोकथामको लागि तपाईहरूले के गरिरहनुभएको छ ?
सरकारको तर्फबाट चाल्नसक्ने किसिमका कदमहरू चालिएका छन् । कुनै कमी हुन दिइएको छैन । यो संक्रमण देशव्यापीमात्र नभएर विश्वव्यापी रूपमा नै फैलिएको छ । यसको नियन्त्रण गर्न त्यतिनै चुनौतीपूर्ण छ । यसका निमित्त हामीले अनगिन्ती प्रयासहरू गरिरहेका छौँ ।
तपाईहरूले चमत्कार नै गर्न सक्नुभएन, विरामीहरू छटपटाइरहेका छन्, बेड नपाएर ?
प्रदेश, केन्द्रले अस्तिमात्र के निर्णय गरेको छ भने काठमाडौँ उपत्यकाबाहेकका जिल्लाहरूमा प्रदेश सरकारले हेर्ने, काठमाडौँ उपत्यकालाई संघीय सरकारले हेर्ने भन्ने कुराको नीतिगत निर्णय भएको छ । स्थानीय तहमा स्थानीय सरकारले हेर्ने भन्ने नीति छ । हामीसँग जम्माजम्मी १० ओटा जिल्ला मात्रमा अस्पतालहरू छन् । अस्पताल नभएका ठाउँमा हामीले अस्पताल लिँदैछौँ । हामीले व्यवस्थापन गर्नुपर्ने यी जिल्लाहरूमा भक्तपुरमा २५० बेडको आइसोलेसन वार्डहरूको निर्माण गर्ने काम भईरहेको छ । प्रदेश सरकारले गर्नुपर्ने हाम्रो दायित्वभित्र पर्ने सबै खालका कामहरू यसलाई नियन्त्रण गर्न क्वारेन्टाइन, आइसोलेसन वार्ड, होल्डिंग स्टेशनको व्यवस्था गरेका छौँ । चितवनमा डेडिकेटेड अस्पतालको निर्माण गरेका छौँ तर अस्पतालको आन्तरिक विवादले गर्दाखेरि अस्पताल चल्न सकेको छैन ।
चितवनको कोभिड अस्पतालहरू किन चल्न सकेनन् ?
सुरुमा नै हामीले १ करोडभन्दा बढी लगानी गरेर अलग्गै निर्माण गरेका थियौँ । निर्माण गरेर सञ्चालन गर्ने क्रममा त्यहाँको सरकारी अस्पताल र कोभिड अस्पतालको बीचमा विवाद भयो । विवादपछि त्यहाँको अस्पतालको सामग्रीहरू पनि चोरी भएका भिडियोहरू पनि हामीले हेरेका थियौँ । अस्पताल पनि बन्द भयो । अख्तियारले छानविन गरिरहेको छ । त्यसैले अस्पताल अहिले बन्द छ ।
अस्पताल बन्द छ, यसमा तपाईहरूको निकम्माको कारणले गर्दा होइन र ?
डेडिकेटेड अस्पताल भनेर हामीले जुन बनायौँ, त्यो बन्द छ ।
त्यसोभए अब के गर्नुहुन्छ ? विकल्प के छ ?
त्यसका निमित्त विकल्पको रूपमा हामीले अहिले भर्खर देवघाट जाने ठाउँमा एउटा ठुलो प्राकृतिक चिकित्सालय छ, त्यसलाई नै अहिले अस्पतालको रूपमा आइसोलेसन वार्ड बनाएर प्रयोग गर्ने भनेर त्यहाँ व्यापक काम भईरहेको छ । ७० बेड हामीले आजैदेखि राख्न सक्ने अवस्थामा पुगेका छौँ । त्यो हाम्रो अस्पताल होईन । चितवनामा प्रदेश सरकारको मातहतमा रहने अस्पताल छैन । १५० बेडको आइसोलेसन वार्ड टाँडीको अस्पतालमा बनाउँदैछौँ ।
अहिले अक्सिजन, भेन्टिलेटर छैन । चितवनमा पनि समस्या छ, विरामीहरूको अवस्था कस्तो होला ?
चितवनमा अहिले कहाँ कति खाली छन्, कति ओटा खाली छन् भन्ने कुराको जम्मै रेकर्ड छ । त्यसकारण यो प्रदेशभित्रका काठमाडौँ जिल्लाभन्दा बाहिरका जिल्लाहरूमा बेड, आइसोलेसन, अस्पतालको अभावमा मान्छेहरूले दुःख पाउनुपरेको अवस्था छैन ।
त्यसोभए विरामीहरूको उपचारको लागि कुनै समस्या छैन ?
छैन छैन ।
संक्रमणको संख्या प्रत्येक दिन बढिरहेको छ । रोकथाम गर्न सक्नुहुन्छ ?
अरू हिसाबले त सकिन्छ । जनशक्तिको लागि अलिकति समस्या छ । हामीले भेन्टिलेशनहरूको तयारी गरेका छौँ । हेटौंडा, त्रिशुली, भक्तपुर, धादिङमा भेन्टिलेशन र आइसोलेसनको तयारी गरिएको छ । यहाँ सबै राम्रोसँग हामीले भेन्टिलेटर बाँडिसकेका छौँ । आइ.सी.यु वार्डहरूको तयारी गरिसकेका छौँ तर दुःखद कुरा के छ भने यी सबै चलाउनको लागि हामीसँग म्यानपावर जति हुनुपर्ने हो, त्यति छैन । खासगरी एनेस्थेसिया पाउन नसकिएको कारणले समस्या छ ।
भयावह स्थिति हुँदैछ नि त ?
हामीसँग भएको स्रोत, साधन र शक्तिहरूको अधिकतम प्रयोग गर्ने हो । अहिले १८ देखि २० घण्टा मान्छेहरू खटेर लागिरहेका छन् । आइसोलेसन सबै जिल्लाहरूमा जोडतोडले बनिरहेको छ । सबै मान्छे खाई नखाई काम गरिरहनुभएको छ । स्वास्थ्यकर्मीहरूमा जुन ढंगले संक्रमण फैलियो, यो सबैभन्दा खतरा र डरलाग्दो विषय हो । स्वयम् उपचार गर्ने मान्छेहरू नै संक्रमित भएपछि उहाँहरूलाई सुरक्षाको उपाय अपनाउनुपर्छ । यसले समस्या ल्याउन सक्छ । नियन्त्रणभन्दा बाहिर अहिले गईसकेको छैन । हामी सकेसम्म नियन्त्रणभन्दा बाहिर हामी जान दिँदैनौँ ।
कोरोना नियन्त्रणका लागि संघीय सरकारले सहयोग गरेको छm तपाईहरूलाई, पूर्ण रूपमा ?
स्थानीय सरकारले नै जिम्मेवारी लिएको छ । होल्डिंग एशोसियशनको सञ्चालन गर्ने र क्वारेन्टाइनको व्यवस्था गर्ने काम लिएको छ । क्वारेन्टाइनलाई विस्तारै व्यवस्थापन गरेर होम क्वारेन्टाइनलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने छ र होम क्वारेन्टाइनमा बस्न नसक्ने र बस्न नहुने मान्छेलाई मात्र क्वारेन्टाइनमा राख्ने भन्ने हामीले अहिले पोलिसी बनाइरहेका छौँ । त्यसले गर्दाखेरि क्वारेन्टाइनलाई भन्दा पनि क्वारेन्टाइन भएका ठाउँहरूलाई नै आइसोलेसन सेन्टरमा परिणत गर्ने र अबका विरामीहरूलाई पनि अब धेरै आइसोलेसन वार्डमा सरकारले व्यवस्था गर्नेभन्दा पनि सम्भावना भएसम्म हामीले एउटा समिति बनाएका छौँ, त्यो समितिले संक्रमितको शंका लागिसकेपछि सम्बन्धित व्यक्तिको घरमा गएर उसले अलग्गै बस्न सक्ने स्थिति छ कि छैन, उसको रुम छ कि छैन, ट्वाइलेट, वाथरुमको व्यवस्था छ कि छैन, परिवारको संख्या, बच्चा कति छन् भन्ने हिसाबमा हेरेर अनुगमन गरेर यदि त्यो मान्छे घरमा पनि सुरक्षित बस्न सक्छ भने होम आइसोलेसन सबैभन्दा उपयुक्त हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद समाधान कार्यपत्र बुझाइएको छ । अध्यक्ष प्रचण्ड र के.पी. शर्मा ओलीलाई ? मुख्यमन्त्रीहरूको हेरफेरको कुरा आएको छ ?
खोइ त्यस्तो हल्ला अलि अलि मैले पनि सुनेको हो । तर त्यो हल्लामा कुनै सत्यता छ जस्तो मलाई लाग्दैन । मुख्यमन्त्री फेर्ने भन्ने कुरा कसैको इच्छामा कसैलाई मुख्यमन्त्री बन्न मन लाग्यो, कसैले प्रधानमन्त्री बन्न मन लाग्यो, त्यो आधारमा फेरिन्छ भन्ने मलाई लाग्दैन । जुन पद्धतिबाट हामी मुख्यमन्त्री बन्यौँ, त्यो मुख्यमन्त्री हट्दाखेरि पनि त एउटा सिस्टम होला । त्यत्तिकै त कसैको चाहनाले त हुँदैन होला । त्यसमा मलाई लाग्छ, अहिलेको जुन प्रतिवेदनहरू हिजो बुझाइएकोमा मुख्यमन्त्री नै परिवर्तन गर्ने खालका कुराहरू आएको छैन भन्ने मेरो बुझाइ हो ।