Logo

नेकपाको प्रतिवेदन संशोधन हुने



काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा बनेको कार्यदलले दिएको प्रतिवेदन संशोधन हुने भएको छ । अध्यक्षद्वय र सचिवालयले यसमा सशोधन गर्ने छ ।

शनिबार प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदनमा संशोधन हुने् बताएका हुन् । प्रतिवेदन बुझेपछि ओलीले भनेका थिए ‘छोटो समयमा तपाईंहरूले धेरै महत्वपूर्ण काम गर्नुभयो । एउटा इतिहास बनाउनुभयो । सर्वसम्मत निर्णय लिएर आउनुभयो । हामी दुई अध्यक्षले काँटछाँट गरौँला, सचिवालयमा केही काँटछाँट होला र स्थायी कमिटीमा पनि अलिअलि हेरफेर होला । तर, तपाईंहरूको काम ऐतिहासिक छ,’ एक सदस्यका अनुसार प्रतिवेदन बुझ्दै ओलीले भनेका थिए । प्रचण्डले विभाजनको ढिलमा पुगेको पार्टी एकता बचाउन कार्यदल प्रतिवेदन महत्वपूर्ण र ऐतिहासिक हुने बताएका थिए ।

प्रतिवेदनले प्रधानमन्त्री ओलीलाई राहत दिएको छ, अब उनले तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद त्याग गर्नु नपर्ने भएको छ । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र माधव नेपाल समूहले ओलीले दुवै पद छाड्नुपर्ने माग राखेका थिए । कुनै पद नछाड्ने ओलीको अडान थियो । कार्यदलको सुझाबअनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कार्यविभाजन भने मूर्त गरिएको छ । पार्टीको सम्पूर्ण काम कार्यकारी अध्यक्षले सञ्चालनको जिम्मा लिने तथा दुई अध्यक्षका बीचमा आपसी सहमतिमा पार्टीका बैठक राख्ने, निर्णय प्रक्रियामा दुवै अध्यक्षले हस्ताक्षर गर्ने र बाधा–अवरोध कायम नगर्ने कार्यदलको सुझाब छ ।

कार्यदल प्रतिवेदनको सुझाबअनुसार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँगको सल्लाहमा सरकारका महत्वपूर्ण कामकारबाही र निर्णय अगाडि बढाउने र प्रचण्डले अर्का अध्यक्ष ओलीसँगको सल्लाहमा पार्टीका राजनीतिक एवं संगठनात्मक काम अगाडि बढाउनेछन् । ‘मुख्य त सरकारको काम ओली र पार्टीको काम प्रचण्डले गर्ने भन्ने नै प्रतिवेदनको आशय हो,’ कार्यदलका एक सदस्यले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot