काठमाडौं, भदौ ८ । नजिकिँदै गरेको दशैं र तिहारका लागि आवश्यक पर्ने तयारी पोशाक आयात गर्ने कि नगर्ने भन्नेमा व्यापारीहरू नै यति बेला अन्योलमा छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको ४ महीना लामो बन्दाबन्दीले व्यापार व्यवसायमा परेको नकारात्मक असर र हालको निषेधाज्ञाका कारण चाडपर्वका निम्ति आवश्यक लत्ताकपडा (तयारी पोशाक) आयात गर्ने कुरामा व्यापारीहरू अनिर्णीत अवस्थामा छन् ।
विगत वर्षमा व्यापारीहरूले दशैंतिहार लक्षित गरी छिमेकी चीन र भारतबाट मात्रै करीब ३० अर्ब नेपाली रुपैयाँ बराबरको तयारी कपडा आयात गर्र्थे । त्यसका लागि उनीहरूले साउनबाटै तयारी शुरू गरेका हुन्थे । तर, यस वर्ष कोरोनाका कारण औद्योगिक, व्यवसाय र जनजीवनै ठप्प भएसँगै व्यापारीमा अन्योल सृजना भएको छ । यसले गर्दा चाडपर्वका बेला बजारमा तयारी लुगाको अभाव हुन सक्ने व्यापारीहरूको अनुमान छ ।
लामो समयदेखि नेपाल–चीन व्यापारमा संलग्न राष्ट्रिय व्यापार संघ न्यूरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार व्यापारीहरूले गर्मी मौसमका लागि आयात गरेका करीब ५ सय कन्टेनर लत्ताकपडा ६ महीनादेखि केरुङ नाकामै रोकिँदा अन्योल देखिएको हो ।
‘गर्मी मौसमका लागि आयात गर्न लागिएका पोशाक खरीदमा व्यापारीहरूको करोडौं रुपैयाँको लगानी परेको छ । ती सामान नेपालमा कहिले आउँछन् भन्नेमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । पुरानै लगानी नाकामा अलपत्र छ,’ पराजुलीले भने, ‘त्यसमाथि ती सामानको उपयोगिता सकिने सम्भावना पनि उच्च छ ।
यस्तो बेला कसरी चाडबाडका लागि नयाँ लुगा आयात गर्ने ?’ सरकारी पहल नहुँदा महीनौंदेखि नाकामा सामान रोकिँदा बिग्रने सम्भावनासमेत बढेको चीन व्यापारमा संलग्न व्यवसायीहरू बताउँछन् ।
यसअघि बन्दाबन्दी खुलेका बेला व्यापारीहरूले अनलाइनमार्फत चिनियाँ व्यापारी (एजेन्टहरू)सँग तयारी कपडाका डिजाइन छनोट गरेर आयात गर्ने तयारी गरेका थिए । त्यति बेला पोशाक व्यापारीहरूले हालको अवस्थालाई ख्याल गर्दै करीब ४० प्रतिशत मात्र लत्ताकपडा आयातका लागि अर्डर गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।