Logo

पदाधिकारी नहुँदा विश्वविद्यालयसभा अन्योलमा



चितवन, ८ भदौ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारीविहीन हुँदा विश्वविद्यालयसभा अन्याेलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको बजेट स्वीकृत सभाबाट गर्नुपर्दछ । विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष पूरा भइसकेको छ भने रजिस्टार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिस्टार र सेवा आयोगका अध्यक्षबाहेकका पद कायममुकायमका भरमा चलेको छ । गत वर्ष भदौ ७ गतेदेखि उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनुभएका डा. शारदा थपलियाका अनुसार सभाको सदस्य सचिव रजिस्टार नै नभएका कारण विश्वविद्यालयसभा हुन नसकेको हो ।

विश्वविद्यालय स्थापनायता ढिलोमा यही भदौ पहिलो साताभित्र क्याम्पस सभा हँुदै आएकामा यस वर्ष भने अन्याेलमा परेको उनले बताए । सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ । तलब भने पेश्की बजेट दिएर खुवाउन सकिने उहाँले जानकारी दिए । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई रू ६९ करोड बजेट निकासा भएको थियो । तीमध्ये रू ५० करोड हाराहारी सञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भएकाले रू तीन अर्ब माग गरेको थियो । पूर्ण जिम्मेवारीसहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण काम रोकिएको उनले बताए ।

रजिस्टार गएको माघ १२ गतेदेखि र दुई सङ्कायका डीन गत जेठ १ गतेदेखि खाली छ । सेवा आयोयका अध्यक्ष गत साउन ५ गतेदेखि रिक्त छ । निर्देशकमध्ये जना खाली छ । बाँकी रहेका वन सङ्कायका डीन र निर्देशकको कार्यकाल आउँदा पुसमा सकिँदै छ । उपकुलपति नियुक्त भएमा चार वर्ष कार्ययोजना बनाएर काम गर्न सक्ने छ । विश्वविद्यालयले दीर्घकालीन महत्व राख्ने विभिन्न काम गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्याेलमा परेको छ । विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । विसं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन विद्यालय स्थापना गरेको हो ।-रासस/Photo Source: a2zsamachar



प्रतिक्रिया दिनुहोस्