नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा असफल भएको दाबी गरेका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,’सरकारले विरामीहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राखिदिएन । पि.सि.आर टेस्टिंग गरिदिएनन् । हिजो भारतबाट बस रिजर्भ गरेर आएर सबैजना गाउँगाउँमा पुगिसके । न कतै नियन्त्रण छ, न कतै सिमानामा चेक छ । हाम्रो त मुलुकभरि कोरोना छ्याप छ्याप्ति गईसक्यो ।’ प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
कोरोना संक्रमणको निदानको लागि सरकार कहाँ असफल भयो ?
सरकार असफल भएको हामी सबैलाई थाहा छ, कहाँ कहाँ असफल भएको हो । संक्रमण मात्र होइन रोग जुन सतहसम्म आइसक्यो, अब त्यो रोगलाई कसरी नियन्त्रण गर्ने, विरामीलाई कसरी बचाउने, उपचारको लागि पर्याप्त मात्रामा साधन छ कि छैन त्यसको बारेमा ध्यान दिन जरुरी छ । सबैलाई घरमै होम आइसोलेसनमा राखेरमात्र हँुदैन । हामीले यो ३, ४ महिनाको अवधिमा पर्याप्त मात्रामा रोगीहरूको लागि सरकारले बन्दोबस्त गर्न सकेन ।
किन सकेन, के कारणले भन्नुहोस त डा. दिक्षित ?
एउटा सरकारले विरामीहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राखिदिएन । पि.सि.आर टेस्टिंग गरिदिएनन् । हिजो भारतबाट बस रिजर्भ गरेर आएर सबैजना गाउँगाउँमा पुगिसके । न कतै नियन्त्रण छ, न कतै सिमानामा चेक छ । हाम्रो त मुलुकभरि कोरोना छ्याप छ्याप्ति गईसक्यो । सरकारले पि.सि.आर टेस्ट गरियो भनेर तथ्यांक दिन्छ । यो त्यस्तो सन्तुष्ट हुनुपर्ने काम लाग्दैन । सरकार त्यहाँ असफल भयो । त्यसले गर्दा संक्रमण भयकंर बढ्यो । संक्रमण बढ्नेबित्तिकै संक्रमणको १५ प्रतिशत दरले थुप्रै रोगीहरू आउने भए । त्यो हिसाबले ४ महिना अगाडिदेखि नै तयार हुनुपथ्र्यो । बेड, भेन्टिलेटर, अक्सिजन, स्वास्थ्यकर्मी यति भनेर निर्धारण गर्नुपथ्र्यो । मुख्य कुरा योजना पटक्कै भएन । योजना नभएपछि यस्तै हुन्छ ।
अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती महिलाहरू ? पीडा छ धेरैको ? के भन्नुहुन्छ ?
एकातिर कोरोनाको चाप त आईहाल्यो । कोरोनाको रोगी पनि त्यही हस्पिटलमा जाने र साधारण रोगी पनि छँदैछन्, तिनी पनि त्यही हस्पिटलमा जाने भएर हुँदैन । अब द्वन्द्व हुन आँट्यो, कोरोना रोगी र नन् कोरोना रोगीको बीचमा । कोरोना नभएको रोगी त्यो ठाउँमा बस्नै चाहँदैन । कोरोना भएका रोगीहरू पनि त्यहाँ जाँदा बेड छैन । अरबौपति धनाढ्य रोगीहरू जब कोरोना लागेर मलाई सम्पर्क गरे र मैले हस्पिटल लग्दाखेरि तिनीहरूले पनि कतै पनि बेड पाउन सकेनन् । घर आइसोलेसनमा बस्न भनिदिए । त्यसपछि १, २, ३, ४ गरेर घरका धेरैजनालाई त्यो रोग सरेको छ । यो स्थिति आउनै नहुने थियो । सरकारले योजना पटक्कै गरेन । यो योजनाको अभाव हो । कुनै पनि किसिमको वैज्ञानिक तवरले सरकार अगाडि बढेन । त्यो दुर्भाग्य हो, मुलुकको लागि ।
हामी संवेदनशील हुनैपर्छ । सरकारले के गर्नुपर्छजस्तो लाग्छ यहाँलाई ?
पहिला कुरा सरकारले हरेक हस्पिटलमा गएर एक एक ठाउँमा गएर एक एक हस्पिटलसँग प्रत्यक्ष कुरा गरेर तपाईहरूलाई के चाहियो, भेन्टिलेटर कति ओटा छ, कति ओटा मगाइदिनुपर्ने हो, म्यानपावर कति छ भन्ने बारेमा ध्यान केन्द्रित गर्नुपर्छ । अब गम्भीर अवस्था आउँदैछ । निर्देशन दिने काममात्र भएको छ ।
स्वास्थ्य मन्त्रालयले भनिसक्यो, निजी अस्पतालमा २० प्रतिशत बेड चाहिन्छ भनेर निर्देशन दिईसक्यो नि ?
निर्देशन दिने यी कहाँका मन्त्रीहरू र यी जुन सचिवहरू आएका छन् नि, तिनीहरू कोही पनि गएर त्यहाँ हेरेका छैनन् । पूरा सबै हस्पिटललाई कोरोनाको हस्पिटल भनेर उनीहरूले छुट्याइसके । चीनमा २ हप्तामा १०००० बेडको व्यवस्था गरे ।
हामीसँग आइसोलेसन वार्ड त बनाउन सक्ने अवस्था छैन ?
अब सरकारले कमसे कम प्राइभेट हस्पिटलमा थुप्रै बेडहरू छन्, तिनलाई २० प्रतिशत मात्र राख भनेर हुँदैन । अब त सहयोग लिने हो । उनलाई डण्डा देखाउने होइन । तपाईलाई हामीले के सहयोग दिनुपर्छ, कर राहत कति दिनुपर्छ, भेन्टिलेटर कति ओटा झिकाउनुपर्छ, बेडको क्षमता के छ, हस्पिटलमा कर्मचारी कति छन्, पि.पि.ई कति दिनुपर्छ भनेर यी सबै कुरामा एक एक हस्पिटलसँग बसेर योजना बनाउनुपर्छ । यसमा गिभ एण्ड टेक योजनामा जानुपर्छ । यसो गर्दाखेरि निश्चय पनि आम रोगीहरूलाई सेवा पुग्छ ।
त्यसको लागि त अब भेन्टिलेटर, अक्सिजन, आइ.सी.यु त चाहियो ?
विराटनगरको महानगरपालिकाले पि.सि.आर टेस्ट गर्ने मेशिन नपुगेर चन्दा मागेर ६० लाख पुग्यो भने मात्र पि.सि.आर मेशिन किन्न सक्छन् । योभन्दा दुर्भाग्यपूर्ण कुरा नेपालमा के हुन सक्छ ? हामी बुझौँ यो सरकार कति तयारीमा बसेको रहेछ ? पैसा त गयो, खर्च त भयकंर भयो, यो विराटनगर महानगरपालिकाको सुन्दाखेरि पैसा जुन १२ अरब गएको छ, सही ठाउँमा पुगेको छैन ।
के.पी. शर्मा ओली बलियो हुनुहुन्छ, उहाँलाई कसैले हटाउन सक्दैन भनेर तपाईले भन्नुभएको थियो । त्यही भयो ?
के.पी. शर्मा ओली राजनीतिक हिसाबले निकै बलियो हुनुहुन्छ । उहाँलाई हटाउन सकिन्न तर राज्यलाई व्यवस्थित गर्ने पक्षमा निकै कमजोर देखिनुभयो उहाँ । नत्र भने क्याबिनेटका २ ओटा मन्त्री यस्तो विरोधाभास अर्डर दिँदा दुबईमा भएका नेपालीहरूलाई त्यस्तो अन्याय गर्ने ? यति शक्तिशाली प्रधानमन्त्रीले केही गर्न सक्दैन । न यता निर्णय गर्छ, न उता निर्णय गर्छ । त्यहाँ हाम्रा नेपालीहरू अलपत्र परेका छन् ।
धेरै कारागारमा समस्या/सन्त्रास छ । उच्च जोखिममा गए कारागारहरु पनि ?
कारागारमा भएका हरेक बन्दीहरूको पि.सि.आर टेस्ट गर्ने, पि.सि.आर टेस्टमा नेगेटिभ आएकालाई छुट्याएर पोजिटिभ भएकालाई त्यहाँबाट अर्को कुनै कारागारमा खाली पोजिटिभ केशलाई राख्ने मात्र त्यहाँ सार्नुपर्छ । त्यो गर्ने बित्तिकै हाम्रो धेरै समस्या हल हुन्छ । जसलाई पोजिटिभ देखिन्छ, तिनीहरूको तापक्रम चेक गरेर उनीहरूलाई हस्पिटल लग्नुपर्छ । होइन भने त्यही आइसोलेसनमा राख्नुपर्छ । क्वारेन्टाइनमा नेगेटिभ भएकालाई राख्दाखेरि सबैजनामा संक्रमण हुन्छ । अहिले होम आइसोलेसन भनेको छ, त्यहाँ पनि त्यही भईरहेको छ । यो सरकारको बुद्धि नै छैन । कस्तो कस्तो कुरा गरिरहेको छ ः ३, ४ महिना के हेरेर बस्यो त सरकार ? मुख्य कुरा यो सरकारको दूरदर्शिता, बुद्धि, योजना पनि छैन । खाली भैपरी आउने टालटुल काम मात्र छ ।