काठमाडौं, ८ भाद्र । प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा रमेश कुमार बिक लागायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अर्घाखाँची घर भएका नयाँबानेश्वर बस्दै आएका बिक लागायत ४ जना पक्राउ परेका हुन् ।
गोकर्णेश्वर नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर–३–०२–०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथी नै हातपात र ढुङ्गा प्रहार गरी लखेटेका थिए । मादक पदार्थ सेवन गरेका ४ जनालाई वौद्धबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
त्यस्तै सोलुखुम्बुमा प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरणका बिजय मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दुधकुण्ड नगरपालिका रमिते बजारस्थित अस्थाई प्रहरी पोष्ट रमितेबाट खटिएको प्रहरीलाई रमिते बजारको होटलमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा युनिर्फम तानी सिठी कर्ड समेत चुडाई लडाई लात्ती, रक्सीको बोतल र क्यान बियरले प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।