Logo

जोखिमयुक्त बस्तीहरुलाई स्थानान्तरण गर्न आवश्यक कानून बनाउने निष्कर्ष 



मुकुन्द कालिकोटे : काठमाडौं ८ भाद्र । मुलुकभरका स्थानमा रहेका जोखिमयुक्त बस्तीहरुलाई स्थानान्तरण गर्नका लागि आवश्यक कानून निर्माण हुने भएको छ । सोमबार सिंहदरबारमा सभामुख अग्नी सापकोटा, अर्थमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलगायतको संयुक्त छलफलले उक्त निष्कर्ष निकालेको हो ।
छलफलमा गृहमन्त्री थापाले संसदको आगामी बैठकममा नै आवश्यक कानून निर्माणका लागि विधेयक लैजाने बताए । जोखिमयुक्त बस्तीलाई अन्य स्थानमा सार्नका लागि जग्गा सट्टापट्टा तथा जोखिमयुक्त बस्तीलाई वन क्षेत्रमा रुपान्तरण गर्न कानून अभाव रहेका कारण कानून नै बनाएर देशभरका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गरिने छलफलमा सहभागी सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुलाई छिटो भन्दा छिटो अल्पकालीनरुपमा अन्यत्र सारिने र कानून निर्माण भएपछि त्यसलाई दिर्घकालीनरुप दिइने सांसद तामाङले बताए ।
हालै पहिरो गएको सिन्धुपाल्चोकको लिदिमा रहेको बस्तीलाई भूकम्पपछि जुगल १ सिलाङ बासखर्क भन्ने स्थानमा सार्न खोजिएपनि सो स्थानमा कृषिको व्यवस्था नभएका कारण पूर्ण रुपमा स्थानानन्तरण हुन नसकेको र अहिले क्षती व्यहोर्नुपरेको सांसद तामङको भनाई थियो  । तामाङले भने,’बस्ती सार्दा न्युनतम पूर्वाधारलाई पनि मध्यनजर गर्दै स्थानान्तरण गरिने छ ।’
सभामुख सापकोटासहितको छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री, पुनःनिर्माण प्राधिकरणका सिइओ, बिपत व्यवस्थापन समितिका प्रतिनिधि तथा सांसदहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्