Logo

प्रजिअलाई मुख्यमन्त्री पोखरेलको निर्देशन



खस्यौली, ८ भदौ: कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो सम्वाद गरेका छन्। मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि भइरहेका कामबारे जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन र पिसिआर परीक्षण तथा कन्ट्रयाक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले बन्दाबन्दी र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र बन्दाबन्दी र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउन आग्रह गरे । उनले भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न समेत निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिड १९ को उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागतरुपमा भएका काम र समस्या प्रस्तुत गरे । साथै तत्काल प्रदेश र सङघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्