Logo

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि रुकुमपूर्वका सीमा बन्द



रुकुमपूर्व, ८ भदौ: रुकुमपश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ । रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राती १२ः०० बजेदेखि लागु हुने गरी यही भदौ १४ गते राती १२ः०० बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ । रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशालालगायतका क्षेत्र बन्द गरिएको छ ।

आज बसेको डीसीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot