Logo

कमजोर पूर्वाधारले सुरक्षाकर्मीमा सङ्क्रमणको जोखिम बढ्दै



काठमाडौँ, ९ भाद्र। देशमा जबजब समस्या र विपत्ति आइलाग्छ, अगाडिको मोर्चामा काम गर्ने सुरक्षा निकाय नै हुन्छन् । देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । देशका धेरै स्थानमा सुरक्षाकर्मीका लागि खाने लागाउन तथा बस्ने स्थानमा न्यूनतम् पूर्वाधारको समेत अभाव रहेका बेला यसमा समयमै सुधार नगरे अवस्था जटिल हुनसक्ने बताइएको छ ।

केही सुक्षा निकायले सुरक्षाकर्मीको कार्यस्थलदेखि ब्यारेकसम्मका गतिविधिमा कडाइ गरे पनि त्यो मात्र पर्याप्त हुने बताइन्छ । नेपाल प्रहरीका पूर्वडीआइजी केशव अधिकारी सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण धेरैमा सर्ने प्रमुख कारण उनीहरूको बासस्थानदेखि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षाका लागि चाहिने सामग्रीको अभाव भएको बताउनुहुन्छ ।

सरकारले सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमणबाट जोगाउन प्रर्याप्त साधन स्रोतदेखि सामाजिक दूरीसहितको सुत्ने व्यवस्था गर्न आवश्यक रहेको अधिकारी बताउनुहुन्छ । भोलिको दिनमा यस्ता किसिमका समस्या सुधार्न नसके भयाभह स्थिति आउनसक्ने खतरा रहेको उहाँले बताउनुभयो । कतै ब्यारेकमा एउटै बेडमा तीन जनासम्म सुत्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा स्वाभाविक रुपमा जोखिम बढी हुन्छ ।

आजसम्म सशस्त्र र नेपाल प्रहरीका कुल एक हजार दुइ सय जना सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । नेपाल प्रहरीका ५५१ र सशस्त्रका चार सय जना र नेपाली सेनामा तीन सय सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत, प्रहरीको काम जनतासँग प्रत्यक्ष सहभागी हुनुपर्ने प्रकृतिको भएको बताउनुहुन्छ । कुनै ठाउँका बाढी पहिरो, जुलुस, समाजमा हुने घटनामा अग्रपङ्तिमा रहेर काम गर्नुपर्ने आफूहरूको जिम्मेवारी भएको प्रवक्ता कडायत बताउनुहुन्छ ।

मानिसहरूको प्रत्यक्ष सम्पर्कका कारण प्रहरीमा कोरोना सङ्क्रमण सर्ने गरेको कडायतको भनाइ छ । प्रहरीमा आम मानिसबाट कोरोनाको सङ्क्रमण बढ्ने क्रम देखिएपछि स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणबाट जोगिन, जारी गरेका मापदण्ड प्रहरीमा कडाइका साथ लागू गरेको उहाँले बताएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्