Logo

गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त



दार्चुला, ९ भदौ। मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ । लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्यचौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्त गरिएको जानकारी दिए । “नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन चिकित्सक नियुक्त गरेका हौं” , उनले भने ।

गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो । सो स्वास्थ्य चौकी अस्पतालका रुपमा स्तरोन्नती समेत भएको छ । “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौ”उनले भने, “तर मन्त्रालयले दरबन्दी पठाएको छैन् । अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो ।”
चिकित्सकीय सेवा शुरुआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए । “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उनले भने, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ ।”

चिकित्सक भट्टले दूरदराजका जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । “दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु,” उनले भने । यसअघि चिकित्सक भट्टले गोकुलेश्वर अस्पतालमा सेवा गरेका हुन् । अस्पतालको करार सेवा अवधि सकिएपछि उनी मार्मा गाउँपालिका जानेका हुन् । गाउँपालिकामा अस्पताल स्वीकृत भएसंगै अस्पतालका लागि आवश्यक हुने ९ रोपनी जग्गाको छनौट कार्य समेत भइसकेको छ ।

लटिनाथमा चिकित्सक पुगेसँगै मार्मा, अपिहिमाल र केही नौगाड गाउँपालिकाका नागरिकलाई समेत स्वास्थ्य लिन सहज हुने भएको छ । यसअघि यस क्षेत्रका स्थानीयले चिकित्सकीय सेवा लिन शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल अथवा दार्चुला जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । आफ्नै ठाउँमा चिकित्सक आएपछि विरामीलाई सहज हुने मार्माका स्थानीय दिपेन्द्र विष्टले जानकारी दिए । “चिकित्सकसहितको सेवा पाउनु हाम्रो लागि राम्रो हो”, उनले भने, “दुर्गम क्षेत्रमा चिकित्सक आएर सेवा शुरु गरेकोमा निकै खुसी छौ ।”

दार्चुलामा जिल्ला अस्पताल र अर्को गोकुलेश्वर अस्पताल छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका नगरपालिकामा मात्रै अस्पताल छन् । जिल्लाका अन्य स्थानीय तहले चिकित्सक नियुक्त गर्न सकेको छैनन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्