Logo

राणाहरूलाई हामीले भगायौँ, राजाहरूलाई पनि भगायौँ, अब शेरबहादुरजी पनि जान्छन् : कोइराला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई कसरी हडप्ने भनिकन अहिले लागिपरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार विहान नेपाली रेडिओ नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देउवाले अहिले पार्टी हडप्ने क्रममा मनपरीतन्त्र गरिरहेको पनि उनको अर्को आरोप छ । र, देउवाले विधि, विधान र नजिरलाई छाडिसकेको पनि उनको भनाई छ । प्रस्तुत छ नेता कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन किन गराउन चाहनुभएन ?

एउटा त कोरोना पनि हो । कोरोनाको इस्यु होइन भनेर म भन्दिनँ तर सत्तामा बसिसकेपछि फेरि पार्टीलाई कसरी हडप्ने भनिकन उहाँ अहिले लागिरहनुभएको छ । त्यो लाग्ने क्रममा उहाँ मनपरीतन्त्र गर्दै हुनुहुन्छ । विधि, विधान, नजिरहरूलाई विल्कुल छाडिसक्नुभयो ।

तपाईहरू के हेरेर बसिरहनुभएको छ ?

हामी बोल्दैछौँ ।

बोलेरमात्र हुन्छ र ? शेरबहादुर देउवाले तपाईहरूलाई पेलेर लगिसक्नुभएको छ ।

राजाले पेलेनन्, राणाले पेलेनन्, अब शेरबहादुरजीको पेलाई हामी खाँदैनौँ । राणाहरूलाई पनि हामीले भगायौँ । राजाहरूलाई पनि भगायौँ । अब शेरबहादुरजी पनि जान्छन् ।

उहाँसँग लड्ने तपाईहरूसँग हिम्मत र सामथ्र्यता छ ?

७ गते महाधिवेशन किन गराउन सक्नुहुँदैन भने जित्न खोज्दै हुनुहुन्छ, जित्न खोजेको भएर उहाँले ह्यान्किप्यान्कि गलत क्रियाशीलहरू बाँड्दै हुनुहुन्छ । त्यसकारण उहाँ ७ गते नगरेर अझै पछि गर्दा फाइदा हुन्छ कि भनेर गर्दै हुनुहुन्छ । जित्ने देख्नुभयो भने त महाधिवेशन गरिहाल्नुहुन्छ नि ।

देशभरि उहाँको माहोल छ नि ? उहाँका कार्यकर्ता छन् नि ?

बहुमत छ, त्यसैले मनपरीतन्त्र गर्र्दै हुनुहुन्छ । त्यसैले विधि, विधानलाई मानिरहनुभएको छैन । बहुमत छ भनेर जथाभावी गर्न खोज्दै हुनुहुन्छ । तर अधिवेशन किन रोकिरहनुभएको छ ? जम्मा ५००० न हो । २०१४ साल सम्म त नेपाली कांग्रेसको अधिवेशन जिल्ला जिल्लामा हुन्थ्यो, केन्द्रमा सुनाईन्थ्यो, रिजल्ट कति आयो भनेर ।

राणा शासन, पञ्चायती व्यवस्था, राजसंस्थाविरुद्ध लडेको कोइराला परिवार आज कहाँ छ ?

कोइराला परिवारले मात्र गरेको होइन, यो राणासितको लडाँइ ।

तर त्यसको नेतृत्व कोइराला परिवारले गरेको हो नि, आज तपाईहरु कहाँ हुनुहुन्छ ?

कोइरालाले मात्र गरेको भनेर म भन्दिनँ । वी.पी. कोइरालालेमात्र गरेको भए हुँदैनथ्यो । गणेशमानजी, सुवर्णजी, किसुनजी, निधिजी, गिरीजाबाबु, सरोज कोइरालाहरू पनि हुनुहुन्थ्या, सबै मिलेर गरेको हो । एकजना व्यक्तिले त गर्न सक्दैन । नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त र लोकतन्त्रको सुदृढीकरण गर्न भएको हो । अहिले नेपाली कांग्रेसभित्र निरंकुशता पङपकाउन थालिरहेको छ । त्यसको अन्त पनि हामीले गर्नुपरेको छ ।

क्रियाशील सदस्यतामा शेरबहादुर देउवाले धाँधली गर्नुभयो भने तपाईहरू के गर्नुहुन्छ ?

नेपाली कांग्रेसका कार्यकर्ताहरू राष्ट्रियता र प्रजातन्त्रको लागि, निरंकुशताको अन्त्यका लागि लाग्छन् । नेपाली कांग्रेसभित्र अहिले जुन लोकतान्त्रिक माहोल छैन, सभापतिजीको कारणले, त्यो कुरा नेपाली कांग्रेसका आम कार्यकर्ता, तल्लो लेभलका कार्यकर्ता, गाउँ वडा लेभलका कार्यकर्ताहरूले पनि यो कुरालाई बुझेका छन् । त्यही डर छ, उहाँलाई । त्यो डरले गर्दा उहाँ अधिवेशन गराउन चाहनुहुन्न ।

तपाई सभापतिको उम्मेदवार हुँदाखेरि चन्द्र भण्डारी कांग्रेसको उपसभापतिको उम्मेदवार हो ?

जोपनि हुन सक्छन् । युवाहरूको भूमिका नेपाली कांग्रेसमा अत्यन्त महत्वपूर्ण छ । युवाहरूको भूमिका हस्तक्षेपकारी हुनुपर्छ । युवाहरू आउँछन् । स्थानीय तहमा ६० प्रतिशत युवा, प्रदेशमा ५० प्रतिशतभन्दा बढी युवाहरू, केन्द्रमा ४० प्रतिशतभन्दा बेशी युवाहरूलाई मैले लिने सोचिरहेको छु ।

त्यसो भए तपाई र शशांक कोइरालाको बीचमा तपाईहरूको कुरा मिल्छ ?

हामी सबै मिलेर गर्ने हो । यो मनपरीतन्त्र जुन भईरहेको छ, त्यसको विरुद्ध हामी मिलेर अगाडि बढिरहेका छौँ ।

आन्तरिक लोकतन्त्र पार्टीभित्र छैन ?

छैन ।

किन यस्तो भयो, नेपाली कांग्रेसमा ? लोकतन्त्रको लागि लडेको पार्टीभित्र आन्तरिक लोकतन्त्र छैन ?

कसैलाई कुर्सीको मोह हुन्छ । कुर्सीको मोह भएपछि यो हुँदो रहेछ । सभापतिजीलाई कुर्सीको मोह भयो, फेरि अर्को पटक सभापति बनूँ भनेर । अनि उहाँले विधि, विधानलाई नटेकेर गरेको भए यो समस्या आउँदैन थियो ।



प्रतिक्रिया दिनुहोस्