ललितपुर, ९ भाद्र । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय आधिकृत कृष्ण प्रसाद जैसी र सव–इन्जिनियर किशोर कुमार मोक्तानमाथि डेढ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
अधिकृत जैसी र सव–इन्जिनियर मोक्तानले निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा अधिकृत जैसी र सव–इन्जिनियर मोक्तानले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घुस माग गरी पैसा नदिएमा बिल भुक्तानी गर्न नसक्ने भनी चेकहरु नदिई रोकी सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिएको पुष्टि भएको थियो । उनीहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।