Logo

नेपालमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्ने पहल



काठमाडौं, ९ भाद्र । नेपालमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्ने पहल भएको छ । यसका लागि विश्वमा हाल विकासको अन्तिम चरणमा रहेका कम्पनिहरुसँग समन्वयको पहल भइरहेको स्वास्थ्य क्षेत्रका एक अधिकारीले बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले नेपालमै भ्याक्सिन उत्पादनको सम्भाव्यताबारे अध्ययन भइरहेको खुलाए । उनले भने, ‘भ्याक्सिन उत्पादन गर्न सम्भव छ भने हामीले किन नबनाउने, रिसर्चकै लागि भएपनि किन उत्पादन नगर्ने ।’ देशमा औषधी पनि उत्पादन गर्ने सम्भाव्यताबारे अध्ययन भइरहेको जानकारी दिए ।

हाल विश्वमा सातवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणका क्रममा रहेको र तीनवटा भ्याक्सिन उत्पादक कम्पनिसँग नेपालमा क्लिनिकल ट्रायलको लागि प्रक्रिया थालिएको बताए । उनले रुसी राजदूतावासमार्फत् रुसी भ्याक्सिनको क्लिनिकल ट्रायलको प्रक्रिया बढाउन पत्र समेत पठाइएको खुलाए । रुस र चीनको भ्याक्सिन उत्पादक कम्पनिसँग छलफल बढाइएको बताए । बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपसँग विश्व स्वास्थ्य संगठनको पहलमा बैठक समेत बसेको बताए ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवाली

चीनमा विकास भइरहेको भ्याक्सिन होङ्सी सिमेन्ट कारखानाका एक हजार कर्मचारी र कामदारमा प्रयोग गर्न प्रक्रिया बढाइएको बताए ।
यसअघि डा. ज्ञवालीले क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको बताइसकेका छन् । डाक्टर ज्ञवालीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा भ्याक्सिनको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई परिषद्ले तत्परता देखाएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्