Logo

अख्तियार प्रमुखमा गणेश जोशीको सम्भावना बलियो



काठमाडौं, ९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त डा. गणेशराज जोशीको भाग्य खुल्ने भएको छ । आयोगमै हाल आयुक्त रहेका डा.जोशीलाई प्रमुख आयुक्त बनाउन सत्तारुढ नेकपाभित्र लगभग सहमति जुटेको छ ।

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले २९ भदौबाट अवकाश पाउन लागेकाले नयाँ प्रमुख आयुक्त नियुक्तिको तयारी भइरहेको छ । गत साता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । केही नाम टुंग्याएर छिट्टै नियुक्तिको तयारी भइरहेको स्रोत बताउँछ ।

पूर्व सचिव जोशी यसअघि तत्कालिन माओवादीको कोटामा आयोगमा नियुक्त भएका हुन् । प्रशासन सेवामा हुँदा कुनै दाग नलागेका उनी स्वच्छ छविका व्यक्ति हुन् । उनीले प्रमुख आयुक्तको जिम्मेवारी पाएमा उनले चैतसम्म कार्यभार सम्हाल्नेछन् । त्यसपछि कसलाई प्रमुख आयुक्त बनाउने भन्ने विषय अहिले नै टुंगाउन लागिएको छ । अहिले जो सिनियर आयुक्तमा नियुक्त हुन्छ, त्यही व्यक्ति त्यसपछि प्रमुख आयुक्तमा नियुक्त हुने सम्भावना छ ।

त्यसका प्रमुख दाबेदार पूर्व गृहसचिव प्रेम कुमार राई हुन् । तर, राईलाई रोक्न नेकपाकै एक समूह सक्रियताका साथ लागेको छ । नेकपाकै कोटाबाट आयुक्त हुने व्यक्ति प्रमुख आयुक्त हुनेछ । केही पूर्व प्रहरी समेत नियुक्तिका लागि दौडधुपमा छन् । प्रमुख आयुक्तले समेत अवकाश पाउने भएपछि आयोगमा अब तीन पद रिक्त हुनेछन् । एक पद प्रमुख प्रतिपक्षीको कोटामा र दुई पद सत्तारुढ दलबाटै नियुक्त हुनेछ ।

नेपाली कांग्रेसबाट हुने नियुक्तिको कोटामा भने पूर्व एआइजी जयबहादुर चन्द, पूर्व सहसचिव गणेश कार्की तथा पूर्व गुप्तचर प्रमुख दिलीप रेग्मीलगायत छन् ।

पछिल्लो समय नेकपामा सरकारी नियुक्तिमा पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने सहमति भएको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चाहेकै व्यक्तिलाई अब अख्तियार लगायत निकायमा नियुक्त गर्न नसक्ने अवस्था छ । यस्ता नियुक्तिहरु सचिवालय बैठकबाट निर्णय गराउन लागिएको छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्