Logo

आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी



काठमाडौं, भदौ १०। आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीका निम्ति एकरूपता कायम गर्ने उद्देश्यले सरकारले डलर फेयर प्रावधान हटाउने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वको हवाई भाडा पुनरवलोकन समितिले पाँच क्षेत्रबाहेक सबैमा लागू रहेको डलर फेयर हटाउन सरकारलाई सिफारिश गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रावधान हटाउने तयारी गरेको हो ।

उक्त समितिमा निजी वायुसेवा संघका उपाध्यक्ष यती एयरका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र संघका महासचिव एवम् समिट एयरका प्रबन्धक मनोज कार्की पनि सदस्यका रूपमा थिए ।

तर, नेपाली वायुसेवा सञ्चालकहरूले भने सरकारले आन्तरिक उडानमा स्वदेशी र विदेशीलाई एउटै भाडा दर कायम गरे अहिलेको भाडादरभन्दा कैयौं गुणा महँगो हुन सक्ने भन्दै विरोध गरेका छन् । निजी वायु सेवाहरूले आन्तरिक उडानमा विदेशीका निम्ति डरलमा भाडा लिँदै आएका छन् ।

समितिले चितवनको भरतपुर, मुस्ताङको जोमसोम, कास्कीको पोखरा, सोलुखुम्बुको लुक्ला र संखुवासभाको तुम्लिङटार विमानस्थलमा हुने उडानमा मात्र विदेशीसँग डलरमा हवाई भाडा लिन पाइने सिफारिश गरेको छ ।

मंगलवार मन्त्रालयमा गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले समेत डलर फेयर हटाउने विषयमा काम भइरहेको बताएका थिए ।

तर, हवाई सेवा सञ्चालकहरूले भने डलर फेयर हटाउँदा विमान सेवा कम्पनीहरू बन्द हुने अवस्था आउन सक्ने भन्दै उक्त निर्णयको विरोध गरेका छन् । आन्तरिक उडानमा स्वदेशी र विदेशीका निम्ति समान भाडा दरको प्रावधान कार्यान्वयन गरे सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने वायुसेवा कम्पनीहरूले चेतावनी दिएका छन् ।

विदेशीसँग डलर फेयर लिएकै कारण सोही आधारमा नेपाली यात्रुलाई सहुलियत दरमा सेवा प्रदान गरिएको वायुसेवा सञ्चालक संघले बताएको छ ।

संघ पदाधिकारीका अनुसार सरकारले डलर फेयर प्रावधान हटाए आन्तरिक हवाई भाडा अहिले तिर्दै आएभन्दा करीब तीन गुणा बढी हुनेछ । यस्तो भाडा नेपाली हवाई यात्रुले थेग्नै नसक्ने संघको दाबी छ ।

भाडामा स्वदेशी–विदेशीलाई समानता गरिए निजीक्षेत्रका आन्तरिक हवाई सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने वायुसेवा सञ्चालकहरूको टिप्पणी छ ।
मन्त्री भट्टराईले भने यस विषयमा वायुसेवा सञ्चालकसँग परामर्श गरेरै निर्णयमा पुगिने जानकारी दिए ।आजको आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्