Logo

सङ्क्रमणको ‘चेन ब्रेक’को प्रयासमा उपत्यकाका स्थानीय तह



काठमाडौँ, १० भाद्र । कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरूले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तीव्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक्ट ट्रेसिङ् र शङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तीव्र पारिएको छ ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आबद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तीव्रता दिने निर्णयमुताबिक काम थालेको हो । समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रुपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशङ्कामा नियन्त्रणको काम अघि बढाइएको छ ।

अभियानमार्फत समुदायस्तरमा सङ्क्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिनुभयो । प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार २०० उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रुपमा सङ्क्रमण फैलिएको जानकारी दिनुभयो । आज मात्रै उपत्यकामा २३२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १९९ छन् ।

उपत्यकामा विगतमा नगन्य सङ्क्रमण भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्याधिक रुपमा सङ्क्रमित भेटिएको छ । साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिन सहयोग गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्