Logo

दुई डाक्टर र तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण



दमौली, १० भाद्र। तनहुँमा दुई जना डाक्टर र तीन जना अन्य स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर कार्य गर्दैआएका दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना अनमी र एक जना स्वास्थ्यका कार्यालय सहयोगीलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

सङ्क्रमित डाक्टरमध्ये एक जना बन्दीपुर र एक जना आबुँखैरेनीमा कार्यरत छन् । स्वास्थ्यकर्मीहरूमा जीपी कोइराला अस्पताल, आँबुखैरेनी र बन्दीपुरमा कार्यरत एकरएक जना र बन्दीपुरका एक जना कार्यालय सहयोगीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले उहाँहरू सबै कोरोनामुक्त भइसक्नुभएको छ ।
त्यसैगरी, जिल्लाभर सात जना प्रहरीलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा दुई जना रहेका छन् भने एक जना जिल्ला प्रहरी कार्यलयलमा कार्यरत महिला प्रहरीका पतिलाई पनि कोरोना सङ्क्रमण भएको छ । उहाँ पनि जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत जुनियर प्रहरी अधिकृत हुनुहुन्छ । त्यस्तै इलाका प्रहरी कार्यालय भानुमा कार्यरत दुई जना, बन्दिपुर र आँबुखैरेनी गाउँपालिकामा एकरएक जना प्रहरी जवानमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित प्रहरीमध्ये पाँच जना अहिले आइसोलेसनमा हुनुहुन्छ । त्यस्तै दुई जना नेपाली सेनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरू दुवै जना अहिले आइसोलेसनमा हुनुहुन्छ ।

त्यसैगरी एक जना सामाजिक कार्यकर्ता र एक जना स्थानीय तहका जनप्रतिनिधिलाई पनि कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमण भएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष कोरोनामुक्त भइसक्नुभएको छ भने जनप्रतिनिधि आइसोलेसनमा रहनुभएको छ । त्यस्तै शुक्लागन्डकी नगरपालिकाको एक निजी बैङ्कमा कार्यरत एक कर्मचारीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर जिम्मेवारी निभाउनुभएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सामाजिक कार्यकर्तालाई कोरोना सङ्क्रमण हुँदा अहिले जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा र लकडाउन गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर जिम्मेवारी निभाउनेहरूलाई कोरोना सङ्क्रमण हुँदा त्यसले सर्वसाधारणमा पनि सङ्क्रमणको जोखिम हुनसक्ने कारण अत्यावश्यक काम नभएकाबाहेक अन्य सर्वसाधरणहरू प्रशासनको निषेधाज्ञा पालना गरी घरमा सुरक्षित साथ रहुनपर्ने बताउनुभयो । यो समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्