Logo

स्वाब दिएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण



सर्लाही, १० भाद्र। सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ । गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । त्यसमध्ये मङ्गलबार ७९ जनाको रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण पाइएको गोडैता नगरपालिका, स्वास्थ्य शाखा उप–संयोजक प्रमोद पण्डितले जानकारी दिनुभयो ।

सङ्क्रमितहरू अधिकांश सर्वसाधारण रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय, मलङ्गवाबाट ल्याएर स्वाब सङ्कलन गरिएका छ जना थुनुवामा पनि कोरोना सङ्क्रमण पाइएको छ । स्वास्थ्य उप–संयोजक पण्डितका अनुसार ४०२ जनाको स्वाब पठाइएकोमध्ये आइतबारदेखि रिपोर्ट आउन सुरु भएको हो । स्वाब पठाएको १३ औँ दिनसम्म ३८७ जनाको रिपोर्ट आएको छ । जसमा ६९ जनामा सङ्क्रमण पाइएको छ ।

अझै १५ जनाको रिपोर्ट आउन बाँकी रहेको पण्डितले बताउनुभयो । अहिलेसम्म सङ्क्रमण पुष्टि भएकामध्ये नौ जनालाई सदरमुकाम मलङ्गवास्थित नर्सिङ कलेजको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको छ भने अन्य सबै सङ्क्रमित आ–आफ्नो घरमै बसिरहेका गोडैता नगरपालिकाका, प्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

घरमै बस्दा जोखिम हुने भएकाले सङ्क्रमितहरूलाई सदरमुकाम लाने प्रयास गरेपनि नौ जनाबाहेक अन्यले मलङ्गवाको आइसोलेसनमा जान अस्वीकार गरेका नगर प्रमुख यादवको भनाइ छ । उहाँले दुई हप्तापछि बल्ल रिपोर्ट आउँदा स्वाब दिएकाहरू गाउँघरमा खुलेयाम हिँडेको पाइएकाले थप व्यक्तिहरूमा पनि सङ्क्रमण सारेको हुनसक्ने बताउनुभयो ।

नगर प्रमुख यादवले बुधबार पुनः वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैताको प्राङ्गणमा थप व्यक्तिहरूको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्