Logo

बन्दीबाहेक सर्वोच्चमा सम्पूर्ण सुनुवाइ ठप्प



काठमाडौं, १० भाद्र । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ । सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । सर्वोच्चले गत ४ गते आठवटा उत्प्रेषणको आदेशले बदर गर्न माग गरी दायर भएको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेको थियो । सोही दिन संयुक्त इजलासबाट तीनवटा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ भएको थियो ।

काठमाडौं उपत्यकामा डरलाग्दो तवरले कोरोना भाइरसको संक्रमण बढेका कारण सर्वोच्चकै कर्मचारी तथा कानुन व्यवसायीले समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ रोक्नुपर्ने माग गर्दै आएका थिए । सर्वोच्चकै केही कर्मचारीमा समेत कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएपछि यो माग झन् जोडतोडले उठेको थियो ।

त्यसपछि गत ५ गते शुक्रबार जम्मा एउटा मात्र बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि पेस भएको थियो । रितेश गुप्ताको हकमा रिन्कु जयसवालद्वारा दायर गरिएको निवेदनमा न्यायाधीशहरु दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले विशेष अदालत, बबरमहलबाट सम्बन्धित मिसिल झिकाउने आदेश भएको थियो ।

यही भदौ ७ गते आइतबार सर्वोच्चको एकल इजलासमा आठवटा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि पेस भएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ती सबै निवेदनमा देखाइएका विपक्षीलाई कारण देखाउ आदेश जारी भएको छ । यसै गरी सोही दिन न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले दुईवटा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेको थियो । तीमध्ये एउटामा विपक्षीसँग ‘बुझ्ने आदेश’ भएको छ भने अर्कोमा फाइल मगाउन आदेश दिएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्