राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले देश यतिवेला भेन्टिलेटरमा रहेको तर देशका मुख्य राजनीतिक दलहरु भ्ने आन्तरिक झगडामा व्यस्त रहेको टिप्पणी गरेका छन् । उनले देशको अर्थतन्त्र डामाडोल रहेको र आर्थिक हिसाबले देश भेन्टिलेटरमा पुगेको बताएका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ राजनीतिक विश्लेषक आचार्यसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
देशको आर्थिक, राजनीतिक, सामाजिक विषयवस्तुमा तपाईले कसरी समिक्षा गर्नुभएको छ ?
राजनीतिक हालखबर नेताहरू झगडा गर्दैछन् । कांग्रेस पार्टीमा पनि झगडा छ । कम्युनिष्ट पार्टीमा पनि झगडा छ । झगडामा राजनीतिक पार्टीहरू मस्त बसिरहेका छन् । राजनीतिक पार्टीहरू झगडा गर्दा भागबण्डा हुन्छ, फाइदा छ । झण्डै ५० लाख युवाहरू वेरोजगार छन् । देश विदेशबाट रोजगारी छोडेर फर्केर बसेका छन् । देशको अर्थतन्त्र डामाडोल छ । देश सही रूपमा भन्ने हो भने आर्थिक हिसाबले भेन्टिलेटरमा पुगेको छ । कोरोना कारणले कति पुगेको छ, थाहा छैन तर अर्थतन्त्र, वेरोजगारी, महंगीको हिसाबले देश भेन्टिलेटरमा छ ।
सामाजिक रूपले देशको अवस्था कस्तो छ ?
सामाजिक हिसाबले मान्छेहरू डिप्रेशनमा छन् । लकडाउन बाहेक सरकारले अरू कुनै उपाय दिएको छैन । सोसियल डिस्टान्सको नाममा समाज छिन्नभिन्न भएको छ । हाम्रो सभ्यता बर्बाद भईरहेको छ । त्यसकारण लकडाउनको अर्को विकल्पहरू खोज्नुपर्छ भन्ने सद्गुण बुद्धि सरकारमा बस्नेहरूलाई आओस् । राजनीतिक, आर्थिक र सामाजिक रूपले देश अहिले डिप्रेशनमा छ । देश मात्र होइन संसार नै एक खाले डिप्रेशनमा छ तर संसार खुलिसक्यो, नेपाल बन्दमा छ, केही पनि नगरिकन प्रशासकहरू बन्द गरेर बसिरहेका छन् । यो सबैभन्दा सजिलो उपाय हो, बन्द भनिदियो, सबैलाई घरमा थुनेर राखिदियो, कर्मचारीहरूले तलब पाईहाल्छन्, यी दुबै बन्द गर्नेहरू कर्मचारीहरू हुन् । राजनीतिमा पनि पेशाको लागि कर्मचारी भईसके । कुनै सांसदको नेपालमा तलब घटेको छैन । ५०००० को त कुरै भएन, बाचुञ्जेल तलब पाईहाल्छन्, रिटार्यड भईसकेपछि भत्ता पाईहाल्छन् । त्यसैले नेपाल देश भनेको आज उद्योगधन्दा चलाउने उद्योगपति, व्यापारी, विद्यार्थीको होइन । देश भनेको ती एक/दुई लाख मान्छेको हो, जो सरकारी तलब खाएर जनताको करबाट तलब खाएर बसेका छन् । त्यतिकै लकडाउन भनिदिन्छन् । देश चलाउनको लागि असक्षम नेतृत्वहरूको नेपालमा हात छ, बर्बाद भयो देश ।
देश बचाउने कसले त ?
बचाउनको लागि सबैभन्दा तुरुन्त पहिलो काम के गर्नुपर्छ भने लकडाउनलाई कसो गरि हुन्छ, यसलाई सावधानीपूर्वक खोल्नुपर्छ । संसारसँग विस्तारै भए पनि जोडिदैँ जानुपर्छ । संसारको यो पहिलो देश हो, जहाँ यति धेरै दिनसम्म लकडाउन भएको । सरकारमा भएकाहरूमा अलिकति सद्बुद्धि आएर स्वास्थ्य स्थितिलाई अलिकति सर्तकताका साथ लिने गरी अहिले ६ महिनालाई देश अत्यन्तै संकटमा छ, त्यसलाई अगाडि बढाउनुपर्छ ।
घुस त जताततै छ । नियुक्तिमा पनि विचौलिया र कुटुम्बहरूको कुरा छ । के भन्नुहुन्छ ?
समस्या त्यही छ । अब यो एकदमै समस्यामा ज्ञानहीन मान्छेहरूको हातमा देश गयो । सर्वत्र के छ भने सरकारले खरीद गर्ने, मान्छेलाई सामग्रीहरूमा समेत सरकारले घुसको बोलबाला भयो । कम्तीमा अब अगाडिको ६ महिना घुस खान्न भनेर यी शासक र प्रशासकले प्रण गर्नुपर्छ । यसो गर्नाले स्वास्थ्य सामग्री पनि सही आउँछ । सम्बन्ध पनि नयाँ ढंगले विकास हुन्छ । नेपालीहरू पनि उद्यमशील छन्, धेरै ईमान्दार र मेहनती छन् ।
नेपाली कांग्रेसले पनि नातावाद, कृपावादलाई अगाडि बढाएको छ नि ?
राजनीतिक जुन संरचना छ, यसबाट अहिले निकास चाहियो । राजनीतिलाई नयाँ दिशा दिने कि नदिने ? जनता यसरी अगाडि आउनुपर्छ, छलफल अब टुँडिखेलमा गर्ने हो । छलफलमा राजनीतिक लिडर यस्तो चाहिन्छ भनेर टँुडिखेलमा बसेर लाखौँ मान्छेहरूले छलफल गरेर अगाडि जाने हो । प्रतिनिधिमूलक व्यवस्था जुन छ, पार्लियामेन्टबाट छानेर, जनताबाट नचुनिएका वामदेबजीलाई फेरि अहिले सत्तामा ल्याउने तयारी चल्दैछ ।
गिरीजाप्रसाद, शेरबहादुर प्रधानमन्त्री हुँदा पनि त्यस्तै थियो । जताततै आफन्त नै आफन्तले मात्रै नियुक्ती पाउँथे नि ?
हाम्रो राजनीतिक चरित्र आफन्तका साथसाथै आफन्तमा पनि पैसा दिने मात्रको छ । आफन्तले पनि पार्टीमा योगदान, देन दिएको अलिकति त्यागी, सक्षमलाई दिइँदैन, त्यहाँ आफन्तलाई पनि । आफन्तमा पनि पैसाको लेनदेन गर्न सक्नेलाई खोजेर दिईन्छ । यो देश राजनीतिज्ञ, शासक र प्रशासकले होइन, विधि, प्रक्रियाहरूले चलाउनुपर्छ । विचौलिया, कमिशन एजेन्टहरूले गर्दा नेपालको प्रशासन पूरा धमिराले खाएको छ । करप्सनको ज्वारभाटामाथि नेपाल बसेको छ । अब देशको राम्रोको छिनोफानो सुप्रिम कोर्टबाट हुँदैन । यसको छिनोफानो अब अख्तियारबाट हुँदैन । यो टँडिखेल गएर गर्नुपर्छ ।
अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
छैन । उहाँलाई केही दिँदैनन् । उहाँलाई दिईने भनेको अस्तिको सेरेमोनियलको जस्तै पार्टी अध्यक्ष हो । त्योभन्दा माथि उहाँको हैसियत नै छैन । file photo