सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद समाधानोन्मुख रहेको स्पष्ट पारेका छन् । उनले पार्टी कुनैपनि हालतमा विभाजन नहुने दाबी गरे । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले योग्य मान्छे खोज्दाखेरि नाता भेटियो भने त्यसलाई कुनै ठूलो अप्ठ्यारो मान्नुपर्ने कुरापनि नभएको जिकिर गरे । प्रस्तुत छ नेता पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद सकियो अब ? विवाद समाधान भएकै हो त ?
पार्टीभित्र कहिलेकाँही छलफल हुने कुरा, विचारको कारणले बहस हुने कुरा, नेताहरूको बीचमा सरसल्लाह हुने कुरा हुँदै आएको हो । विगतमा यस्ता छलफलहरू अलिकति बेमेल खालका कुराहरू, कहिले कहिले विचार, जनवादको विषयमा छलफल हाम्रो पार्टीभित्र हुँदै आएका छन् । अहिले पनि हाम्रो पार्टीभित्र पार्टी पद्धति र सिस्टममा चलाएमा दुरगामी रूपमा यसमा फल प्राप्ति हुन्छ भनेर नेताहरूले कुरा राख्नुभएको छ । सरकारलाई गाइडलाइन दिने पार्टी पनि हो । सबै समानस्तरका नेताहरू भएका कारणले कसैले पनि कुनै ठाउँमा स्पेश छोडेनन् । यी सबै कुरालाई ध्यान दिएर मुलुकमा नेकपालाई जनताले मत दिएर सरकारमा लगेका छन्, २०७२, आश्विन ३ गते संविधान बन्यो, संविधान बनिसकेपछि यो पहिलो निर्वाचन हो, जसले यो मुलुकमा स्थिरता कायम गर्नका निम्ति नेपाली जनताले दुई तिहाइ मत दिएर नेकपालाई जिताएको हो ।
जनताले जिताए तपाईहरूले के गर्नुभयो त ? तपाईहरूले त नातागोतालाई भर्नुभयो । के भन्नुहुन्छ ?
हामीले मुलुकलाई समृद्ध मुलुक बनाउने काम गर्नुपर्छ, समाजउन्मुख पुग्ने लक्ष्यस्वरूप हामीले योजना बनाएका छौँ । त्यसका लागि पूर्वाधार कसरी खडा गर्ने भन्ने विषयमा कतिपय कुराहरू नेतालाई लागेको बताउँदै जाँदा केही–केही असमझदारी अलिकति पार्टीका नेताहरूबीचको थोरै समझदारी हुन नसकेको कारणले थोरै छलफल भएको हो । पार्टी विभाजनमा पुग्यो भन्ने अवस्था होइन ।
उसो भए के.पी. शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालबीच कुरा मिलेको हो त ?
अहिले मिलाउनकै निम्ति नेताहरूको छलफलबाट सचिवालयको बैठकमा एउटा कार्यदल निर्माण गर्ने कुरा भयो । त्यो कार्यदलबाट सबै विषयमा उठेका कुराहरूलाई कार्यदलले योजना तयार गरोस् । त्यसपछि टुंगोमा पुग्ने भनेर सबै नेता सहमत भएर पहिले ९ जनाको कार्यदल बनाउने कि भन्ने कुरा आएको रहेछ । ९ जनाको कार्यदल बनाउने कुरामा नेताहरूले त्यही खालको नाम दिनुभयो । केही केही नेताहरूको नाम कटौती भएर ६ जनाको कार्यदल बन्यो । यो त सर्वसम्मत सहमतिबाट कार्यदल बनाउनको निम्ति योजना बनाएर नै त्यसरी कार्यदल बनेको हो ।
सरकार नियुक्ती, सरुवा, बढुवामा विवादमा मुछियो नि ? किन ?
यसमा छलफल चल्दैछ । यसले प्रक्रिया पूरा गर्छ । प्रक्रिया पूरा गरिसकेपछि सरकारले नियुक्ति गर्ने सरकारको एउटा जिम्मेवारी पनि हो । यो त प्रक्रियामा आउँदाखेरि छनौटमा पर्दा उहाँहरूले उत्कृष्ट नम्बर ल्याउनुभयो । उहाँ आइसकेपछि स्वभाविक नियुक्ति भयो । यो सरकारले प्रक्रिया पूरा गर्दा परेका एकाध कुरा होलान् ।
हाम्रो देशमा नातावाद र कृपावादको मात्रै किन पहुँच हुन्छ ? नेताहरूलाई छोरीछोरी, नाता कुटुम्बबाहेक कोही चाहिँदैन ?
कुनै योग्य मान्छे खोज्दाखेरि नाता भेटियो भने त्यसलाई कुनै ठुलो अप्ठ्यारो मान्नुपर्ने कुरा पनि होइन । जिन्दगी राजनीतिमा लाग्नुभएका नेताहरू दुबै भाई एकैपटक मन्त्री भएको रेकर्ड पनि छ नि त । जसले जिन्दगी यही पार्टीमा बिताए । उहाँहरूलाई भाइ, दाई हो भनेर अवसर नदिने कुरा पनि हुँदैन ।
मन्त्री, सांसद बनेको कुराभन्दा पनि मैले नियुक्तिको कुरा गरेको नि ?
नियुक्ति छनौट प्रक्रियामा आईसकेपछि नियुक्ति गर्नैपर्छ, सरकारले । कुनै एउटा सि.ई.ओ. छान्नुपर्दा एउटा मेकानिजम बनाउँछ, ३ जनाको कमिटि बनाउँछ । कमिटिले उसको जाँच लिन्छ । जाँचबाट पास भईसकेपछि उसलाई नियुक्ति गर्नैपर्छ । माधव नेपाललाई कतिपय खालका आरोपहरू लगाइन्छ तर जसले विधि, पद्धति अगाडि बढाउन चाहन्नन्, त्यो सोचको मात्र कुरा हो । पार्टी विधि, पद्धतिमा नै जानुपर्छ । यी सबै विषयमा पार्टीभित्र छलफल भएको हो । यो ठुलो विद्रोह पनि होईन । तर कुरा मिल्छ । अहिले कार्यदलले पनि धेरै कुरा दिईसकेको छ । कतिपय नियुक्तिको कुरा होला, कतिपय पार्टी पद्धतिको कुरा होला । पार्टी हाम्रो विभाजन हुँदैन । file photo