Logo

कोरोना भाइरस धेरै समय रहला जस्तो छ, भाइरससँगै रहन सिक्नुपर्छ-डब्लुएचओका नेपाल प्रतिनिधि भ्यानडिलिएर



काठमाडौं, १० भाद्र । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपालस्थित प्रतिनिधि डाक्टर जोस भ्यानडिलिएरले अब कोरोना भाइरससँगै रहन सिक्नुपर्ने बताएका छन् । उनले भाइरसको संक्रमणबाट बच्न रोकथामको उपाय अपनाउन आग्रह गर्दै भ्याक्सिन आएपछि केही समस्या समाधान हुने बताए ।

‘भाइरस धेरै समय रहला जस्तो छ । अब भाइरससँगै रहन सिक्नुपर्छ,’ भ्यानडिलिएरले स्वास्थ्य मन्त्रालयसँगको कुराकानीमा आज भने । उनले भ्याक्सिन यसै वर्षको अन्तसम्म आउने भएपनि सबैले एकैपटक पाउने अवस्था नभएको बताए । प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, वृद्धवृद्धा र दीर्घरोगीलाई सर्वप्रथम दिइने बताए ।

भ्याक्सिन गरिब देशहरुले पनि पाउन् भनेर मापदण्ड बनाएको बताए । तर, सँसारमा हाल परीक्षणका क्रममा रहेका सबै भ्याक्सिन प्रयोगमा नआउने बताए । उनले भने, ‘प्रत्येक १० मध्ये एउटा भ्याक्सिनमात्र प्रयोगमा आउँछ ।’

कोरोना भाइरस हावामा नभएको र छिटाबाट सर्नसक्ने बताए । उनले भने, ‘थुक वा अन्य शरीरमा रहेका छिटाबाट छिर्न सक्छ । त्यसबाट बच्न सकिन्छ ।’ भाइरस भुईँमा झर्ने भएकाले छिटाबाट बच्न मास्क लगाएमा जिउभित्र पस्न नपाउने बताए ।



प्रतिक्रिया दिनुहोस्