Logo

सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड



काठमाडौँ, ११ भाद्र । काठमाडौँ उपत्यकामा मङ्गलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौँमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन् । पछिल्लो १५ दिनमा काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या तीन गुणाले वृद्धि भएको छ । जसमध्ये अधिकांशमा सङ्क्रमण सक्रिय अवस्थामा छन् ।

जनस्वास्थ्यविद्हरू सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत देखिन थालेकोले ‘कन्ट्याक्ट ट्रेसिङ’लाई प्रभावकारी नबनाइए अवस्था भयावह हुने बताउँछन् । सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। बासुदेव पाण्डेले सूक्ष्म व्यवस्थापन गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न लागिएको बताउनुहुन्छ । उपत्यकामा दैनिक दुई सयभन्दा बढी सङ्क्रमित थपिँदैछन् । एकजना सङ्क्रमितले नेपालमै १२० जनासम्मलाई सङ्क्रमण सारेको उदाहरण छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक सङ्क्रमितले औसतमा १२ जनालाई सङ्क्रमित बनाएका छन् ।

यसरी दुई सय सङ्क्रमित थपिँदा कम्तीमा दैनिक छ सय जना क्वारेन्टिनमा बसेर स्वाब परीक्षण गराउनुपर्ने आवश्यक देखिन्छ । तर सङ्क्रमितको सम्पर्कमा आउने सम्भावित व्यक्ति क्वारेन्टिनमा बस्ने कता हो कता लुकेर बस्दा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण भुसको आगो सरह फैलने जोखिम बढेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल बताउनुहुन्छ ।

जनस्वास्थ्यविद् डा। शरद् वन्त भन्नुहुन्छ, “लकडाउन कोभिड–१९ विरुद्ध लड्ने मौका थियो, धेरै तयारी गर्नुपर्ने थियो, तयारी गर्न नसक्नुको असर बिस्तारै देखिँदैछ ।” लकडाउन खुल्नुअघि विदेशबाट आएर क्वारेन्टिन र आइसोलेसनमा बस्ने अधिकांशमा सङ्क्रमण पाइएको थियो । तर अहिले अवस्था फेरिएको छ ।
“तेस्रो चरणको सङ्केत देखिन थालेको छ ।” जनस्वास्थ्यविद् डा। वन्त थप्नुहुन्छ, “स्रोत समुदाय हुन गएकोले रणनीति त्यसै बमोजिम बनाइनुपर्छ र प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।” समुदायमा सङ्क्रमण गएको लक्षण देखिएकोले कन्ट्याक्ट ट्रेसिङ युद्धस्तरमा गर्नुपर्ने उहाँको सुझाव छ ।

सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा नौ हजार जना सङ्क्रमितको सम्पर्कमा आएका ट्रेस भएको जानकारी दिनुभयो । जसको एक तिहाइ मात्रै पहिचान भएको र थोरै मात्रै क्वारेन्टिनमा बसेको महानगरपालिकाका प्रवक्ता डङ्गोल बताउनुहुन्छ ।

काठमाडौँ उपत्यकाको तीन जिल्लामा १८ वटा स्थानीय तह छन् । मन्त्रालयको निर्देशिका बमोजिम महानगरले पाँच र उपमहानगरले तीन र नगरले दुई वटा टोली कन्टयाक्ट ट्रेसिङको लागि खटाएको छ । ५० लाख जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा एक सय जनाको टोली खटाएर सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी कोभिड–१९ नियन्त्रणमा लिन नसकिने डा. वन्त तर्क गर्नुहुन्छ ।यो समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्