Logo

नेपाल आउन सर्तै सर्त



काठमाडौं, भदौ ११ । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको हवाई उडान प्रतिबन्ध खुला गराउँदै अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान तालिका तय गरेको हो ।

पर्यटन मन्त्रालयले तय गरेको तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ ।

यसैगरी, सरकारले आगामी १६ भदौ पछि पनि स्वदेशी वायुसेवा कम्पनीबाटै विभिन्न देशमा चार्टर उद्धार उडान नै जारी राख्ने भएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेलाई मध्यनजर गरी केही मुलुकमा चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने निणर्य गरेको हो ।

सरकारले पहिलो चरणमा पिसिआर परीक्षण सम्भव हुने मुलुकमा मात्र नियमित व्यावसायिक उडानको अनुमति दिएको छ । चौतर्फी विरोधपछि सरकार यस्ता मुलुकमा आगामी १६ भदौबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गर्न बाध्य भएको हो ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ ।

सरकारले नेपाल आउन यात्रुसंग पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य हुनुपर्ने, सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने, अनलाइन फाराम अनिवार्य,फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने, कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही, विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य, भिसाको जिम्मा अध्यागमनलाई, नियुक्तिपत्रवाहकलाई छुट र स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य सर्त अन्र्तगत राखेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्