Logo

“कोरोना संक्रमणको जोखिम बढ्यो, जनस्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउनुपर्छ”



मधु धमला क्षेत्री : पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाईएको छ । संघीय राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पनि भदौ १७ गतेसम्म निषेधाज्ञा लगाईएको छ । देशभरि कोरोना संक्रमण ह्वात्तै बढ्नुको प्रमुख कारण भनेको क्वारेन्टिन र आइसोलेशन सेन्टर व्यवस्थित् नहुनु नै हो । यसको अलावा मानव आवातजावत पनि व्यवस्थित् बनाईएको छ । आम मानिसले लकडाउन खुकुलो वा खुल्ला बनाउँदा कोरोना जितेको जसरी व्यवहार गर्दापनि समस्या भएको देखिन्छ । यसअघि संक्रमणको अवस्था केही घटेकोजस्तो थियो । तर, लकडाउन खुकुलो भएपछि र भएका क्वारेन्टिन व्यवस्थित् नहुँदा पछिल्लो समय संक्रमण ह्वात्तै बढेको छ ।

विभिन्न अध्ययन र अनुशन्धानले पनि नेपालका अधिकांश होम क्वारेन्टिन, आइसोलेशन सेन्टर व्यवस्थित् नहुँदा यस्तो अवस्था आएको देखाएको छ । देशभरिका क्वारेन्टिनलाई देशभरिका सबै पालिकाहरुले व्यवस्थित् तरिकाले सञ्चालन गर्नुपर्ने आजको आवश्यकत्ता छ । र, अर्को कुरा कोरोना संक्रमणको जोखिमको खतरा औंल्याउँदै ती ठाउँको अवस्था हेरेर लकडाउन गर्नुपर्ने देखिन्छ । जनस्वास्थ्यविज्ञहरुले दिने सरसल्लाहअनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका कार्यक्रम अगाढि बढाउनुपर्ने पनि खाँचो छ ।

काठमाडौं भ्याली प्रवेशलगायत मुख्य शहरहरुमा प्रवेशको लागि मार्च पास तरिकाले अहिले जसरी प्रवेश गरिएको थियो, त्यो गलत थियो । पूर्णतः प्रवेष निषेध गर्नुपर्छ । कुनैपनि व्यक्ति जस्तोसुकै काममा हिँडेको भएपनि सो व्यक्तिको नाकामा कम्तीमा पनि आरडिटी परीक्षण गरेर मात्र प्रवेश गराउँदा राम्रो हुन्छ । सवारी पास लिएर हिँडेको व्यक्तिसँग कोभिड संक्रमण नहुने हो र ? साथै सरकारको स्वास्थ्य मन्त्रालयको मात्र एक्लो पहलले संक्रमण नियन्त्रण हुने होईन । सरकारलाई सबैको साथ र सहयोग हुनुपर्छ । यसको लािग प्रत्येक नागरिक जागरुक हुनुपर्छ । कोभिडविरुद्ध डाक्टर, नर्स र स्वास्थ्यकर्मी खुलेर कोरोना नियन्त्रणको लागि फिल्डमा उत्रनुपर्ने देखिन्छ । र, फिल्डमा कोभिड–१९ नियन्त्रणमा खटिने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई हौसला प्रदानको लागि उचित तरिकाले जोखिम भक्ताको व्यवस्था गर्नुपर्छ । र, सबै क्षेत्रमा यो लागु गर्नुपर्छ ।

खासगरी कोभिड–१९ मा अग्रभाग (फ्रन्टलाईन) मा काम खटिएका र खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई हालसम्म अभिमुखीकरण तालिमको व्यवस्था गरिएको छैन् । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यकर्मीहरुको आज टेलिभिजनमा समाचार हेरेको भरमा काम गर्नुपर्ने अवस्था छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारको प्रोटोकल सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई अपडेट नै नभएको देखिन्छ । यस्तो अवस्थामा कोभिड–१९ को नियन्त्रणको लागि अभिमुखीकरण तालिम पनि अति आवश्यक छ । यसतर्फ सम्बन्धित निकायहरुको विशेष ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु ।

कोरोना नियन्त्रण तथा रोकथामका उपायहरु सबैले आत्मसात गर्नुपर्छ । यसको लागि राज्यले क्वारेन्टिन व्यवस्थित् बनाउनुपर्ने र होम क्वारेन्टिन बन्द गर्नेगरि कदम चाल्नुपर्छ । त्यस्तै, स्वास्थ्य विज्ञहरुको सल्लाहअनुसार कार्ययोजना बनाउनुपर्छ । अर्को कुरा, डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम दिन ढिलाई गर्नुहुन्न । र, संक्रमणको अवस्था हेरेर खासगरी रेड, ऐल्लो र ग्रिन जोनमा विभाजन गरेर लकडाउन लगाउनुपर्छ । र, पहुँचका भरमा वितरण गरिने पास तत्काल बन्द गर्नुपर्छ । कोरोनाविरुद्ध अग्र भागमा काम गर्नेहरुलाई सरकारबाट हौसला हुनुपर्छ ।

अर्को कुरा, कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरिएका समाचार आइरहेका छन् । यो दुःखद कुरा हो । स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार गर्नेहरुलाई तत्काल कारबाही गर्नुपर्छ । नेपालको भारतसँग खुल्ला सिमाना छ । सरकारले भारतसँगको सिमाना कडाई गर्नुपर्छ । जबसम्म भारतमा कोरोना नियन्त्रण हुँदैन, तबसम्म नेपालमा नियन्त्रण हुँदैन् । कोरोनाविरुद्धको लडाई सबै मिलेर लड्नुपर्छ । सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ । पिसिआर जाँचको दायरा बढाउनुपर्छ ।

लेखक धमला धादिङमा कार्यरत स्वास्थ्यकर्मी हुन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot