डा. अरूण कुमार सिंहले नेपाल सरकारले पर्याप्त समय पाउँदापनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि व्यवस्थापन गर्न नसकेको बताएका छन् । उनले नेपालमा जुन लेभलमा उपचार हुनुपर्ने हो त्यो हुन नसकिरहेको पनि जिकिर गरेका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
कोरोनाको संक्रमणको कारणले किन मृत्युदर बढिरहेको छ ?
मुख्य कारण के हो भने हामीकहाँ व्यवस्था छैन । हामीले पुग्दो समय पाएको हो । पुग्दो समय पाएर पनि कुनै प्रकारको व्यवस्था हामीले मिलाउन सकेनौँ ।
उपचारमा हामी कहाँ असफल भयौँ ? कसरी उपचार हुन सकेन ?
जुन लेभलको उपचार हुनुपर्ने हो, त्यो भईरहेको छैन । एकदम कमजोर क्वालिटिको उपचार भईरहेको छ, हाम्रो देशमा ।
डाक्टरह्रूले भन्नुभएको छ, उपचारमा हामीले धेरै प्रगति गरेका छौँ भनेर ? के भन्नुहुन्छ ?
बाहिर प्रचार गर्नु एउटा कुरा हो । यथार्थ भित्रको अर्कै कुरा हो ।
वास्तविकताको कुरा गर्दाखेरि तपाईले भन्नुभएको छ, पछिल्लो समय । अब हामीले के गर्नुपर्छ, नेपालको व्यवस्थापन कस्तो हुनुपर्छ ?
यसमा सबैभन्दा पहिला के हुनुपर्छ भने अहिले सरकारले बनाएको जुन कमिटि छ, त्यो कमिटि नै बिजोक छ । त्यो कमिटि काम गर्नको लागि बनाएको जस्तो मलाई अनुभव भएन । कुनै पनि प्रकारको त्यस्तो परिणाम यो ४ महिनामा आउन सकेन । सरकारले कुनै परिणाम दिन सकेको छैन ।
ईश्वर पोखरेलको नेतृत्वको कमिटि विघटन हुनुपर्छ ?
मैले कुनै व्यक्तिको नाम लिएर भनेको होइन । अहिलेको यो कमिटि वैज्ञानिक कमिटि होइन । यो वैज्ञानिक कमिटि नभएको हुनाले एउटा वैज्ञानिक कमिटि हुनुपर्छ । अहिलेसम्म के देखिएको छ भने संसारको अरू अरू अनुसन्धान मैले लिएको छु । प्रकोप नियन्त्रण गर्ने जुन कमिटि छ, त्यसमा सरकारी पक्ष कमजोर छ । प्रतिपक्ष पनि त्यति नै जरुरी छ । यो कुनै सरकारको मात्र समस्या होइन । यो सम्पूर्ण देशको समस्या हो, हरेक व्यक्तिको समस्या हो । प्रतिपक्ष सबैलाई मिलाएर एउटा केन्द्रिय कमिटिको गठन हुनुपर्छ । जसमा प्रधानमन्त्रीको अध्यक्षतामा, सबै पार्टीको अध्यक्षह्रूलाई समावेश गरेर एउटा कमिटि बन्नुपर्छ । त्योबाहेक विशेषज्ञलाई त्यसमा समावेश गर्नुपर्छ । खाली चिकित्सक मात्र राखेर हुँदैन ।
प्रचण्डलाई प्रस्ताव गर्दाखेरि उहाँले अस्वीकार गर्नुभयो । अब प्रधानमन्त्री तयार हुनुहोला ?
उहाँलाई अहम्ले बोलाइरहेको छ । कोरानोको अहम्ले उहाँको अहम्लाई तोड्छ । त्यसमा हामी पूरा नेपालीको समस्या हो । अहिले अहम्ले काम चल्नेवाला छैन । त्यसैले उहाँको अहम्लाई कोरोनाले तोड्छ । कुनै प्रकारको अहमताको भावनालाई त्यागेर अहिले हामी सम्पूर्ण नेपाली मिल्नुपर्छ । मिलेर हामी अगाडि बढ्नुपर्छ । यसको लागि मैले जुन मोडल बनाएको छु, त्यो मोडल अनुसार यदि काम भयो भने त्यसबाहेक केन्द्रिय हस्पिटलमा २५००० बेड क्षमता भएको आइसोलेसनको व्यवस्था तुरुन्त मिलाउनुपर्छ । अब हामीसँग समय छैन । किनभने अर्को सातादेखि ठुलो अप्ठ्यारो यहाँ हुन्छ । त्यसैले २५००० बेड अहिले तुरुन्तै मिलाउनुपर्छ, केन्द्रिय हस्पिटलमा । हरेक प्रदेश हस्पिटलमा कम्तीमा ५००० बेड, ७ ओटा प्रदेश छ, ३५००० बेड हुनुपर्छ । त्यसपछि क्षेत्रीय हस्पिटलमा जति पनि चुनाव क्षेत्र छ, त्यहाँ न्युनतम ५०० बेडको व्यवस्था हुनुपर्छ । जबसम्म यसको व्यवस्था हुँदैन, तबसम्म कोरोनाको नियन्त्रण गर्न सकिँदैन । सरकारले अब एउटा बहाना के गर्न सक्छ भने हामीसँग जनशक्ति छैन, जनशक्ति हामीसँग पर्याप्त छ । सरकारले त्यो किन देखिरहेको छैन, म अचम्ममा परिरहेको छु । हामीसँग अहिले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रेसन अनुसार करिब २६००० डाक्टर छन्, नेपालमा । अहिले कोरोनामा अधिकतम १५० देखि २०० डाक्टरले काम गरिरहेका छन्, देशभरि । बाँकी डाक्टरले काम नपाएर त्यसै बसेका छन् । त्यत्रो डाक्टरह्रूले कोरोना नियन्त्रण गर्न सक्दैनन् ? रिटायर्ड डाक्टरह्रू पनि छन्, हामीसँग । उहाँह्रूलाई पनि समावेश गरियो भने हामीलाई झण्डै झण्डै ३०००० डाक्टरको जनशक्ति छ । त्यो बाहेक नेपालमा १९ ओटा मेडिकल कलेज छन् । हरेक मेडिकल कलेजको सबै विद्यार्थीलाई यसमा समावेश गरिनुपर्छ । नर्सिङ क्याम्पसह्रू छन् । १० देखि १५ दिनको तालिम हामीले दियौँ भने त्यो जनशक्तिको हामी सदुपयोग गर्न सक्छौँ । त्यो बाहेक प्यारामेडिकलह्रू त्यत्रो छन्, देशमा । त्यो जनशक्तिलाई पनि तालिम दिएर हामीले प्रयोग गर्न सक्छौँ । मैले देखेको हामीसँग जनशक्तिको कुनै अभाव छैन तर सरकारले जम्मा १५० देखि २०० डाक्टरलाई लिएर काम गरिरहेको छ ।