Logo

निषेधाज्ञा उल्लङ्घन गरी रौतहट प्रहरी कार्यालय घेराउ



रौतहट, १२ भाद्र । हिरासतमा प्रहरीको कुटपिटबाट विजय राम चमारको मृत्यु भएको भन्दै आफन्तजनले गरुडामा बिहीबार कडा प्रदर्शनसहित ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कार्वाही र क्षतिपूर्तिको मागसहित मृतक विजयका आफन्तसहित स्थानीयले ईलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

जिल्लाको गरुडा नगरपालिका(८ बसबिटि जिंगडियाका २० वर्षीय निरन्जन राम चमारको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका सातमध्ये गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय चमारको बुधबार राति १ बजे मृत्यु भएको थियो ।

सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले सहन नसकी उनको उपचारका क्रममा मृत्यु भएको मृतक विजय रामका बुबा पनिलाल चमारले आरोप लगाउनुभएको छ । निर्दोष छोरालाई हत्यामा फसाउने नियतले प्रहरीले जबरजस्ती पक्राउ गरेको उहाँको दाबी रहेको छ ।

यता, पक्राउ परेका मृतक विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।
उपचारका क्रममा पिसिआर टेष्टसहित दुई दुई पटक डायलाइसिस गरिएको तथा दुवै मिर्गौलाले काम गर्न छाडेपछि विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महतोले स्पष्ट पार्नुभयो ।

गएको साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अवैध सम्बन्ध राखेको अभियोगमा उनकै साथीहरुले धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँ नजिकै फालेका थिए । यसरी आफ्नै साथीबाट हत्या गरिएको अनुसन्धानमा खुलेपछि सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुुन राम, सिकेन्द्र राम र विजयराम चमार तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित सातजनालाई रौतहट प्रहरीले पक्राउ गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्