Logo

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर



काठमाडौँ, १२ भाद्र। कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा सवारी साधन चलाउने देशभर नै भेटिएका छन् ।

कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसविरुद्ध थप कडाइ गरिएको उहाँले बताउनुभयो । “निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर भएकोसमेत पाइयो, त्यस्ता गतिविधि रोक्न छड्के जाँच शुरु गरिएको छ”, महाशाखा प्रमुख ढकालले रासससँग भन्नुभयो ।

निषेधाज्ञाको उल्लङ्घन हुन थालेपछि तीन दिनदेखि उपत्यकाका १२० स्थानमा हुने छड्के जाँचका लागि १२० प्रहरी परिचालन गरिएको छ । उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरुको गतिविधिसमेत निगरानी गर्नेछ । त्यस्ता गतिविधि गर्ने दुई हजार १४ जना कारवाहीमा परेका छन् । मुख्यगरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यकरुपमा गाडी चलाउने पाइएको छ । नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्नेसमेत फेला परेको छ । काम नभइकन बैंकको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ ।

प्रवउ ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई समेत सँगै अघि बढाइएको जानकारी दिनुभयो । ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूूरी कायम गर्न अनुरोध गर्दै विभिन्न चोकमा प्रचारात्मक साइन बोर्ड राख्न थालिएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक साताको निषेधाज्ञाका समयमा सात हजार १६३ सवारी साधनलाई ‘होल्ड’ मा राखेर कारवाही गरिएको छ । त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यकरुपमा हिँड्ने एक हजार १०२ जनालाई कारवाही गरिएको छ । आजै ३०६ जनालाई नियन्त्रणमा लिइसकिएको छ । निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्तरुपमा अस्थायी सुरक्षाचौकी स्थापना गरी निगरानी गरिएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्