Logo

निषेधाज्ञाको मारमा औद्योगिक क्षेत्र



वीरगञ्ज, विराटनगर, भदौ १२ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाले मुलुकका प्रमुख औद्योगिक कोरिडोरको उत्पादन खुम्चिएको छ । ४ महीना लामो बन्दाबन्दी हटेपछि बढ्न थालेको औद्योगिक गतिविधि पछिल्लो निषेधाज्ञायता सुस्ताएको हो ।

कोरोनाको गम्भीर लक्षणसहितका संक्रमित बढेपछि अहिले ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ । उत्पादनका केन्द्र र मुख्य बजार दुवै प्रभावित भएपछि उत्पादन घटेको उद्यमीहरू बताउँछन् ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै उत्पादन बढाएका उद्योगहरूको उत्पादन क्षमता पछिल्लो निषेधाज्ञाले प्रभावित बनेको छ । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन अहिले क्षमताको २५ प्रतिशतभन्दा तल झरिसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

त्यस्तै अवस्था मुलुकको अर्को औद्योगिक क्षेत्र, सुनसरी मोरङ औद्योगिक कोरिडोरको पनि छ । पछिल्लो समय विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडजस्ता प्रदेश १ का मुख्य व्यापारिक शहरमा कोरोना संक्रमण बढ्न थालेपछि लगाइएको निषेधाज्ञाका कारण उद्योगहरूले आप्mनो उत्पादन ४० प्रतिशत कटौती गर्नुपरेको उद्योगीहरूको भनाइ छ ।

उद्योगमा कार्यरत मजदूरमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूमा मजदूर काममा आउनै छाडेको उद्योगीहरू बताउँछन् । एकातिर कोरोनाको त्रास छ भने अर्कोतिर मजदूर उद्योगमा काम गर्न नआउँदा उद्योगको उत्पादन प्रभावित भएको छ । आर्थिक अभियान दैनिकमाबाट ।

 



प्रतिक्रिया दिनुहोस्