Logo

रंगेली विवाद साम्यः मृतकका परिवारलाई १० लाख राहत



झापा, भदौ १२ । झापा गाउँपालिकामा गौहत्यापछि बल्झिएको विवाद साम्य भएको छ । विवादका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर मृत्यु भएका ३८ वर्षीय रसिकुल आलमको परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउने सहमतिपश्चात् विवाद साम्य भएको हो ।

पीडित पक्ष र झापा गाउँपालिका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको उपस्थितिमा बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकमा सातबुँदे सहमति भएको छ ।

सहमतिपश्चात् पीडित पक्षले आलमको शव बुझ्नुका साथै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको नेकपाका नेता रुद्र बजगाईंले बताए ।

झापा प्रशासन र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतक आलमको परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउन संघीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने, तत्काल झापा गाउँपालिकाले मृतकका परिवारलाई काजक्रियाका लागि ५० हजार रुपियाँ दिने सहमति भएको छ ।

त्यसै गरी गृह मन्त्रालयले समेत घटनाको यथार्थ बुझ्न छानबिन समिति गठन गरिसकेकाले त्यस समितिलाई सहयोग गर्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गर्ने, मृतकका परिवारलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थापन मिलाउन संघीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने, शुक्रबार पोस्टमार्टमपश्चात् आलमको शव बुझ्ने, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्नेलगायतको विषयमा सहमति भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

पीडित पक्षले शहीद घोषणासहित ११ बुँदे माग राखेका थिए । तर, छलफलमा शहीद घोषणा नहुने बताएपछि सहमति जनाइएको थियो । यता बाछो मारेको आरोपीहरू सोही गाउँपालिका–३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई बुधबार राती नै जनप्रतिनिधिको रोहबरमा छाडिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्