Logo

ओली सरकार कोभिड नियन्त्रणमा शून्य सफल : नारायण खड्का



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद डा. नारायण खड्काले वर्तमान सरकारले कोभिड नियन्त्रणमा शून्य सफलता हाँसिल गरेको टिप्पणी गरेका छन् । उनले कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन लगाएको भएपनि त्यही समयमा संक्रमण बढेको बताए । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. खड्कासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईले आज वर्तमान सरकारको मूल्याकंन कसरी गर्नुहुन्छ ? के.पी. शर्मा ओलीको नेतृत्वको सरकार कति सफल, कति असफल कोरोना रोकथाम र नियन्त्रणका लागि ?

खड्गप्रसाद ओलीको नेतृत्वको सरकारको कोभिड नियन्त्रणमा सफल भनेको शून्य ।

त्यसोभए सरकारको सफलता भनेको शून्य ?

कोभिडमा शून्य किनभने लकडाउन गरेको छ, त्यसपछि फेरि खोल्यो, लकडाउनकै बेलाम संक्रमणको संख्या बढेको बढेकै छ । हिजो मात्र सबैभन्दा अधिकतम संक्रमण देखियो नेपालमा । त्यसकारण यो लकडाउन कुन बेला गर्ने, कुन बेला नगर्ने, लकडाउन र अर्थ अवस्थालाई कसरी लग्ने, लकडाउनको बेला प्राप्त गर्नुपर्ने उपलब्धिहरू के के हुन्, लकडाउन भन्यो, बाहिर प्रहरीहरू राखिदिएको छ, मोटरसाइकल चलाउने सबैले चलाइरहेकै छन् । संक्रमण बढि नै रहेको छ । लकडाउनले अर्थतन्त्र पनि धरासयी बनायो । अर्कोतर्फ संक्रमण पनि रोकिएन । कोभिड १९ बाट धेरै आतकिंत भएर यसलाई ठुलो हिमालय पर्वत सम्झेर जटिल बनाउनुको साटो यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर अर्थतन्त्र सँगसँगै मान्छेको जीवनयापन, सामाजिक हाम्रा रीतिरिवाजहरूलाई पनि व्यवस्थित गरेर लग्ने, त्यो खालको सोच भयो भनेदेखि मलाई लाग्छ बचाउन सकिन्छ ।

त्यसो भए अहिले निषेधाज्ञा आवश्यक छैन ?

यो नियन्त्रण गर्न आवश्यक छ तर यसरी जनतालाई आउनै जानै नदिने, दोकान नै खोल्न नपाइने यसरी हुँदैन । उपचार भईसकेहरूलाई आइसोलेसन वार्डहरू खाली गर्ने, नयाँ मानिसहरू आए भने उपचार गर्ने ठाउँ राख्ने, यही बीचमा हामीले किनमेल गर्नुपर्ने केही इक्वीपमेन्ट छन् कि त्यो किन्ने, कुन अवस्थामा गईरहेको छ, हाम्रो छिमेकी देश भारत, कसरी बढिरहेको छ, त्यसलाई मूल्याकंन गर्न सक्ने, यी उपायहरूमा चेतना जगाउने काम हुनुपर्छ । सरकारले नियन्त्रण गरेर यदि जनता आफै जागरुक भएनन्, जनताले मास्क लगाउनुपर्छ, हात धुनुपर्छ, सामाजिक दूरी कायम गर्नुपर्छ, भीडभाडमा जानुहुँदैन भन्ने चेतना मानिसमा विकास हुँदै गएपछि स्वतः नियन्त्रणमा आउँछ । अमेरिकामा एप्रिलतिर अलिकति कडाइ गरेको थियो । पछि सबै अमेरिकन नागरिकहरूमा आयो, नियन्त्रण गर्न सकिने रहेछ भन्ने भयो । यसको व्यवस्थापन पनि सँगसँगै लग्न सकिन्छ भन्ने निष्कर्षमा पुग्यो । अहिले क्रमिक रूपमा घट्दो अवस्थामा देखिएको छ ।

नेपाल सरकारको उत्तरदायित्व र जिम्मेवारी के ?

नेपाल सरकारको उत्तरदायित्व त खासगरी कोरोना नियन्त्रणको लागि आवश्यक पर्ने आइसोलेसन, पि.पिका सामानहरू पर्याप्त मात्रामा र प्राविधिक मानिसहरू पर्याप्त मात्रामा व्यवस्थित गर्नुपर्छ । मान्छेहरूलाई जुन लागेको छ, कसो गरिरहेका छन्, कति जनालाई संक्रमण भएको छ, त्यसलाई रोकथाम गर्न के गर्ने, आवश्यक बजेटहरूको परिचालन गर्ने, जहाँ भोकमरी होला, त्यहाँ राहतको व्यवस्था गर्ने, मान्छेको जीवनयापनलाई सजिलो पार्नका लागि आर्थिक राहत प्याकेजहरूको व्यवस्था गर्ने सरकारको दायित्व हो । हिजो मलाई सामुदायिक विद्यालयका प्रिन्सिपलहरूले फोन गरेर मलाई भन्नुभएको थियो, पटक्कै सरकारले हाम्रो समस्याहरू हेर्दैन । हामी त फि उठाएर टिचरहरूको तलब तिर्ने मान्छे, पढाई नभएपछि विद्यार्थीहरूले पैसा दिदैँनन्, सारा क्याम्पस बनद गर्नुपर्ने अवस्था आयो । झण्डै झण्डै ३ लाख विद्यार्थीहरूको भविष्य एकदमै अन्धकारमा भयो । त्यसै लकडाउन भन्यो, पछि खोलेपछि त समस्या छ । अर्थतन्त्रलाई सँगसँगै लग्नको लागि सडकहरूमा भीडभाड नगर्नुस् है, मास्क लगाएको छ कि छैन, सामाजिक दूरी कायम गरेको छ कि छैन, औषधी उपचारमा फार्मेसीहरूले पर्याप्त मात्रामा औषधी कुन मूल्यमा बेचिरहेका छन्, पर्याप्त मात्रामा जनताले पाएका छन् कि छैनन्, यी सबै कुराहरू मूल्याकंन गरिएन भनेदेखि अर्थतन्त्र पनि धरासयी हुन्छ । अहिले सरकारको ढुकुटीमा पैसा छैन भन्दै छन् । संक्रमण बढेको बढेकै छ, अहिलेको कडाइ गरेको अवस्थामा पनि ।

परराष्ट्र नीतिको कुरा गर्दाखेरि वर्तमान सरकारको परराष्ट्र नीति के–के छन् त ?

परराष्ट्र नीति त निकै छन्, सरकारको । परराष्ट्र मन्त्रालयले भन्दै थियो, निरन्तरता र परिवर्तन नै हो । विश्व परिवेशमा त निरन्तरताभन्दा पनि परिवर्तनका स्वरूपहरू देखिसक्यौं हामीले । एक शक्तिशाली विश्व संरचनाबाट बहुराष्ट्रिय राष्ट्रहरू अहिले आईरहेका छन् । पुराना सम्बन्धहरूलाई नयाँ तरिकाले परिभाषित गरिरहेका छन् । बहु अर्थतन्त्र पनि परिवर्तन भईरहेका छन् । खुलापनमा मान्छेहरूले संरक्षण गर्न थाले । बढि मात्रामा होम इकोनोमी राष्ट्रपति सि जिन पिङले भन्दै हुनुुहुन्थ्यो, अहिले ग्लोबल इकोनोमीमा एकदमै संरक्षण चाहिन्छ । हामीले हाम्रो डमेस्टिक इकोनोमीलाई संरक्षण गर्नुपर्ने अवस्था आयो । खुला व्यापारको सम्बन्धहरू विस्तारै ब्रेक भईरहेका छन् । यी सबै परिप्रेक्ष्यमा अब नेपालले कोभिड १९ पछिको अवस्था मर्ज हुँदैछ । विशेषज्ञ राष्ट्रहरूको प्रतिस्पर्धा पनि एकदमै खतरनाक छ । इन्डिया र चाइना, अमेरिका र चाइनाको व्यापारदेखि लिएर टेक्नोलोजीदेखि लिएर डिजिटलसम्म प्रतिस्पर्धाहरू भईरहेका छन् । कुनै पनि बेलामा एउटा सानो गल्तीले गर्दाखेरि ठुला युद्ध हुने सम्भावना त्यत्तिके देखिरहेको छ ।

तपाई यसपटकको कांग्रेसको महाधिवेशनमा कुन गुटबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ ?

हाम्रो ठुलो रुख छ । त्यो रुखमा केही हाँगाहरू छन् । एउटा हाँगा शेरबहादुर देउवाको छ । अर्को हाँगा रामचन्द्र पौडेलको हाँगा होला । म त समग्र रुखको एउटा सानो हाँगा हुँला ।

त्यसोभए तपाई शेरबहादुर देउवाको गुटमा जानुभएको होइन ?

थुप्रै हाँगाहरू छन् । हाँगा नै हाँगा छन्, पात नै पात छ । म त टोटल एउटा रुखको पात हुँ ।

शेरबहादुर देउवाको गुटमा तपाईको इन्ट्रि भयो भनेर धेरै भनेका छन् ?

त्यसको लागि एउटा छानविन समिति नै बनाउनुपर्छ । त्यसकारण म न देउवाको गुटमा इन्ट्रि, न पौडेलको गुटबाट आउट ।



प्रतिक्रिया दिनुहोस्