Logo

सञ्चारकर्मी संक्रमित भएपछि आइसोलेसनबाटै समाचार



वीरगन्ज, भदौ १३ । सञ्चारकर्मी र कर्मचारी संक्रमित भएपछि व्यवस्थापन पक्ष रेडियो बन्द गर्ने निर्णयमा पुग्यो। तर, संक्रमित सञ्चारकर्मी र कर्मचारीले एफएम स्टेसनमै आइलोसेन बनाएर बसी रेडियो प्रसारणलाई निरन्तरता दिने प्रस्ताव राखे। व्यवस्थापन पक्ष त्यसमा सहमत भयो।

यो घटना हो, वीरगन्जस्थित नारायणी एफएमको। यहाँका ५ रेडियोकर्मीले आफू संक्रमित भए पनि आत्मबल उच्च पारी प्रसारणलाई निरन्तरता दिइरहेका छन्। संक्रमित सञ्चारकर्मी कार्यालयमै आइसोलेसन बनाएर बसेका छन्।

यहाँ काम गर्ने ५ जनामा यही भदौ ६ गते एकसाथ कोरोना संक्रमण देखियो। त्यसअघि स्टेसन प्रमुख र एक प्राविधिकमा संक्रमण पुष्टि भएको थियो। यी २ जना कोरोनामुक्त भइसकेका छन्। स्टेसन प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना भने आआफ्नो घरमा क्वारेन्टाइन बसेका छन्।

एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले रेडियोमा कार्यरतमध्ये ६ जनाले भदौ ४ गते नारायणी अस्पतालमा पुगेर स्वाब दिएको उल्लेख गरे। तीमध्ये ५ जनामा भदौ ६ गते संक्रमण पुष्टि भएको उनको भनाइ छ।

त्यसपछि संक्रमित रेडियोकर्मीलाई प्रहरीले फोन गरी कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो। तर, महामारीका बेला नागरिकलाई पलपल सूचनाको खाँचो रहेकाले रेडियोमै आइसोलेसन बनाएर बस्ने निर्णय गरी प्रसारणलाई निरन्तरता दिइरहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्