Logo

आंशिक शिक्षक अब करार नहुने



काठमाडौं, भदौ १३। त्रिभुवन विश्वविद्यालयले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ ।

नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो ।

अब भने नयाँ तरिकाले शिक्षक नियुक्ति र व्यवस्थापन गरिने भएको छ । सोअनुसार प्रतिक्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपियाँका दरले र प्रतिपिरियड पाँच सय रुपियाँका दरले भुक्तानी दिने गरी शिक्षकलाई पारिश्रमिक दिइने भएको छ ।

सेमेस्टर प्रणालीको हकमा पाँच महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिका आधारमा शिक्षकलाई भुक्तानी दिइने जनाइएको छ ।

एकै शैक्षिक सत्रमा तीन क्रेडिटभन्दा कम वा एक सय पूर्णाङ्कको कोर्स वा विषयभन्दा कम कक्षाभार लिने गरी कुनै पनि व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको अध्यापन कार्यमा सम्झौता गराउन नपाइने प्रावधान बनाइएको छ ।

यसका साथै विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत भएका शिक्षक तथा त्रिवि सेवा आयोगले प्रकाशित गरेको नतिजामा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई अतिरिक्त कक्षा अध्यापनमा सहभागी गराउने नीति लिएको छ ।

विश्वविद्यालयले अवकाश प्राप्त शिक्षकले अवकाशपछि कक्षा लिन चाहेमा त्यस्ता शिक्षकबाट पनि सेवा लिने व्यवस्था मिलाउन मातहतका क्याम्पसलाई निर्देश गरेको छ ।

केन्द्रीय कार्यालयको स्वीकृतिपछि त्रिवि सेवा आयोगको प्रक्रिया पूरा गरेर मात्र अतिरिक्त कक्षा व्यवस्थापनका लागि शिक्षक छनोट गर्न विश्वविद्यालयले क्याम्पसहरूलाई परिपत्र गरेको छ ।

यसअघि क्याम्पसले आफूखुसी शिक्षकको नयाँ भर्ना गर्ने गरेका थिए । अब पनि क्याम्पसले नै नयाँ शिक्षक नियुक्ति गर्ने भए पनि स्वीकृति लिनुपर्ने प्रावधानमा कडाइ गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot