Logo

क्वारेन्टाइन बनाइएका होटल रित्तै



हेटौँडा, १४ भाद्र। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ । हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो । विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टाइन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।

होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिनुभयो । उहाँले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टाइनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताउनुभयो । एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो ।
तीमध्ये बाथरुमसहितको प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा रहेका थिए ।

प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ, द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दा एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको थियो । यस्तै एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने गरी मूल्य तय गरिएको श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विदेशबाट आउने क्रम पछिल्लो समय कम भएको छ । होम क्वारेन्टाइनको अवधारणा ल्याइएपछि होटलमा बस्ने कोही भएनन् । ” हेटौँडा अस्पतालका एक चिकित्सक कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी होटेलमा आइसोलेसनमा बसेका थिए । पछिल्लो समय हेटौँडा औद्योगिक क्षेत्रस्थित दुई उद्योगले यहाँका दुई होटलमा कामदार कर्मचारी राखेर काममा लैजाने ल्याउने गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्