Logo

उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह



काठमाडौँ, १४ भाद्र। सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् । काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।
कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष हेल्थ डेस्क राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

स्वयंसेवक परिचालन  दक्षिणकाली

दक्षिणकाली नगरपालिकाले हेटौँडाबाट उपत्यका प्रवेश गर्ने मुख्य नाका राम्चे र हुमाने भञ्ज्याङमा स्वयंसेवक परिचालन गरी उपत्यका प्रवेशमा कडाइ गरेको छ । स्वयंसेवकले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने काम गरिरहेका छन् । स्थानीय प्रशासनबाट माग भएअनुसार नगरपालिकाले अन्य सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

आवतजावत ठप्प  तारकेश्वर

तारकेश्वरबाट पासाङ ल्हामु राजमार्ग र टोखा छहरे हुँदै काठमाडौँ प्रवेश गर्न सकिने भए पनि अहिले दुवै नाकाबाट आवजावत ठप्प छ । काठमाडौँ उपत्यकाको फोहोर धादिङतर्फ जाने सवारी साधन र धादिङबाट उपत्यकामा आउने तरकारी र फलफूलका सवारी साधनबाहेक अन्य आवतजावत बन्द भएको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।

आवश्यक समन्वय र सहयोग  सूर्यविनायक

काभे्रबाट काठमाडौंँ आवतजावत गर्ने मुख्य नाका साँगामा सूर्यविनायक नगरपालिकाले आवतजावतका लागि पास सिफारिसमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पताल जानुपर्ने व्यक्तिका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि नगरपालिकाले घरघरमै सेवा पु¥याएको छध्र

सवारी व्यवस्थापन गर्दै चन्द्रागिरि

चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्र हुँदै काठमाडौँ प्रवेश गर्ने चित्लाङ र नागढुङ्गा नाकामा रोकिएका सवारी साधन व्यवस्थापन गर्न सहजीकरण गरिरहेको छ । भदौ ३ को रातिदेखि उपत्यकामा निषेधाज्ञा लागू भएपछि सो क्षेत्रमा करिब एक हजार चार सयवटा सवारी साधन बीच बाटोमै रोकिएका छन् । ती सवारी साधन व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

जताबाट आयो उतै फिर्ता  शङ्खरापुर

शङ्खरापुर नगरपालिकाबाट काठमाडौँ प्रवेश गर्ने नाङ्लेभारे, भोटेचौर, नगरकोट, कात्तिके नाकाबाट आउने नाका बन्द छ । कोही कोही आवतजावत गर्न खोजे जताबाट आएको उतैतिर फिर्ता पठाइने गरिएको शङ्खरापुर नगरपालिकाले जनाएको छ । मुख्य नाकाभन्दा बाहिर जङ्गल तर्फबाट पनि अवतजावत गर्ने व्यक्तिलाई नगरपालिकाका सबै वडाका बासिन्दालाई उच्च निगरानी राख्न आग्रह गरिएकाले अहिलेसम्म भागेर आवतजावत गरेको जानकारी नआएको उहाँले बताएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्