Logo

एम्बुलेन्सले नमानेपछि बिरामीलाई शव वाहनमा अस्पताल



बुटवल, १४ भाद्र । कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्‍याइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो।

संक्रमितका आफन्तले सुरुमा कोरोना विशेष अस्पताल बुटवलको एम्बुलेन्सलाई फोन गरे। एम्बुलेन्सले व्यस्त रहेको बताएपछि अन्य संघसंस्थाका एम्बुलेन्सका चालकलाई फोन हाने। तर कसैले पनि कोरोना संक्रमित बोक्न मानेनन्। ‘कोरोना पोजिटिभ बिरामी हो भन्नासाथ फोन काटे, कसैले बोक्नै चाहेनन्ु, संक्रमितका एक आफन्तले भने।

बुटवलमा आइसियु उपलब्ध नभएपछि उनलाई चितवन मेडिकल कलेज पुर्‍याउनु थियो। एम्बुलेन्सले नै नमानेपछि उनीहरु समस्यामा परे। आफन्तमार्फत अन्ततः शव वाहन फेला पारे। त्यो पनि चालक बिनाको। बुटवल उपमहानगरपालिकाले हालै खरिद गरेको शव वाहन संक्रमितकै छोराले चलाएर चितवन पुर्‍याए। ‘अन्य विकल्पै नभएपछि जिउँदो बुवालाई शव वाहनमा बोक्नु पर्‍योु, आफन्तले भने,‘सबैभन्दा ठूलो त ज्यान बचाउनु नै थियो।’

चितवन मेडिकल कलेजको आइसियुमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छ। उनको परिवारमा दुई छोरासहित अन्य तीन जनामा समेत कोरोना संक्रमण भएको छ। कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमान्दा समस्या भएको छ। कोरोनाका बिरामी बढेसँगै बुटवलको अस्पतालको आइसियु भरिएका छन्। भैरहवामा आइसियु रहे पनि जनशक्ति नहुँदा चल्न सकेका छैनन्।

एम्बुलेन्सले कोरोना संक्रमित बिरामी बोक्नै नमान्दा समेत प्रशासनले कुनै कदम चालेको छैन। दुई साता अघिमात्रै एक कोरोना संक्रमित गर्भवतीलाई एम्बुलेन्सले बोक्न नमान्दा उनीहरु निजी गाडीमा नेपालगञ्ज पुगेका थिए।‘बिरामी बोक्नका लागि कर छुटमा एम्बुलेन्स ल्याउने तर जोखिममा रहेका बिरामी नै नबोक्नु दादागिरी होु, कोराना संक्रमितका आफन्त भन्छन्। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्