काठमाडौं, १४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई शुक्रबार विहानै बालुवाटार बोलाए । गौतम भैंसेपाटीबाट हुइँकिएर गए । जहाँ दुई नेताबीच पार्टीका विषयमा रणनीतिक कुराकानी भयो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले उपाध्यक्ष गौतमलाई पार्टी सञ्चालन र भावी रणनीतिका विषयमा केन्द्रित रही दुई घन्टा छलफल गरे । छ बुँदे सहमतिको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न भुमिका खेलेका गौतमलाई ओलीले भविष्यमा महत्वपूर्ण समयमा साथ दिएर गुन तिर्ने संकेत गरेको बुझिएको छ ।
गौतमलाई ओलीले राष्ट्रियसभामा लाने चाहना विगत देखि नै देखाइरहेका थिए । तर, गौतमले पार्टी जिम्मेवारीमा जोड दिदै आएका छन् । त्यसैले उनले उपाध्यक्ष पद प्राप्त गरे । भविष्यमा पनि ओलीको साथमा अध्यक्ष पाउने आशामा गौतम रहेका छन् । तत्कालिन नेकपा एमाले अध्यक्ष बन्दा होस् या पटक पटक सत्ता संकट हुँदा साथ दिएको विषय नै किन नहोस् गौतमले अब चाहिं आफूले साथ खोजेको बताएका थिए ।
ऋषि धमलासँग हिजो प्राइम टाइम्स टेलिभिजनमा प्रधानमन्त्री ओलीले बामदेव राष्ट्रियसभामा नजाने संकेत गरेका छन् । यसको अर्थ उनी सरकारमा जाने सम्भावना न्युन छ । तर, अन्तवार्ताका क्रममा उनले आगामी महाधिवेशनमा कसलाई सघाउने या आफै उठ्नेबारे केही नभनौं भने । एउटाको नाम लिंदा अरु चिढिन सक्ने उनको भनाई थियो । ओलीले बामदेवलाई अब महत्वपूर्ण कार्डका रुपमा राखेको सन्देश दिइसकेका छन् ।
प्रचण्डले अबको साँढे दुई वर्ष सत्तामा चुनौती दिए उनको साथमा एउटा कार्ड बनेको छ जसमा महाधिवेशनमा उनले प्रचण्ड या अरुलाई नसघाई बामदेवलाई सार्ने सम्भावना रहन्छ । कि बामदेवको सहयोगमा आफै बन्ने नभए उनैलाई सार्ने पनि सम्भावना रहेको छ । बामदेवले पनि यही आशा देखेर ओलीलाई संकटमा साथ दिएका छन् । उनले सरकारमा जानुभन्दा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर नेतृत्वमा पुग्ने भर्याङ तयार गर्न खोजेका छन् ।
शुक्रबार बालुवाटारमा ओली र गौतमबीचको दुई घन्टा लामो छलफल भावी रणनीतिकै सेरेफेरोमा कुराकानी भएको थियो । जसमा पार्टीको राजनीतिक दृष्टिकोण, सिद्धान्त देखि भावी नेतृत्वको विषय पनि केन्द्रित थियो ।