Logo

सरुवाले फैलायो संक्रमण



पाँचथर/धनकुटा, भदौ १४ । महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको थियो। सरुवा गर्दा वा बिदामा बसेर ओहोरदोहोर गर्दा प्रहरी कार्यालयमा कोरोना फैलिने गरेको छ। यसबारे प्रहरी कार्यालयहरूमा पुग्दा सावधानी अपनाइएको देखिँदैन। चालक र सवारीसाधनमा ओहोरदोहोर गर्दा संयम नअपनाउँदा कोरोना बढेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले भने बिदामा बसेर आउनेलाई क्वारेन्टिनमा राख्ने, पिसिआर गर्नैगर्ने र सामूहिक मेसलाई अलग गर्ने गरेको छ। तर, सबै कार्यालयमा यो सावधानी अपनाइएको छैन। प्रहरी प्रधान कार्यालयले सावधानीका लागि आवश्यक पहल नगर्दा उपत्यकाबाहिरका प्रहरी कार्यालयहरू कोरोना संक्रमण बढेको छ। शनिबार कोटेश्वर ट्राफिक प्रहरी कार्यालयका १९ प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ। योसँगै उपत्यकामा कार्यरत संक्रमित हुने ट्राफिक प्रहरीको संख्या १ सय १० पुगेको छ। यसबाहेक नेपाल प्रहरीका ६ सयभन्दा बढी कर्मचारी संक्रमित भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी कार्यालयहरूमा कोरोना फैलँदै जाँदा प्रहरी प्रधान कार्यालयले उच्च सावधानी अपनाउन निर्देशन दिएको छ।

प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायतले सबै कार्यालयमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए। उनले भने, ‘अहिले सबैजसो प्रहरी कार्यालयमा होसियारी अपनाइएको छ, कुनै कार्यालयमा संक्रमित देखिएपछि त्यसको कन्ट्याक्ट ट्रेसिङमा बढी ध्यान दिएका छौं।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्