मुकुन्द कालिकोटे : काठमाडौं, १४ भाद्र । बागबजार (ईच्छुमति तरकारी बजार) स्थित रहेको तरकारी बजार समाज कल्याण परिषद्, भृकुटी मण्डप सञ्चालक समितिले एक साताको लागि बन्द गरेको छ ।तरकारी बजारमा कोरोना संक्रमितहरु बढ्दै गएपछि उच्च जोखिममा रहेको भन्दै सञ्चालक समितिले इच्छुमति कृषि (तरकारी) बजार आजबाट १९ गतेसम्मका लागि सूचना टाँसेर बन्द गरेको हो ।
बजार बन्द गर्ने थाहा पाएका उपभोक्ताहरुको विहान ४ बजेदेखि नै बजारको भृकुटीमण्डपतिरको गेटतिर तरकारी किन्नेहरुको घुँईचो देखिएको थियो । तरकारी बजारकै एक व्यपारी भन्दै थिए, हुनेले खान्छन् नहुनेले तरकारी बेचेर जिविकोपार्जन गर्नु परेन, आज दिउँसोबाट खोलिएन भने, सबै मिलेर ढोका फोडिन्छ ।
बागबाजरकी एक महिला व्यपारी भन्दै थिईन– बजार बन्द गरेर हामीसँग भाडा लिने, कहाँबाट दिने उता घरभाडा तिर्नु छ, खानुपर्ने छ आयश्रोत यही हो धनीहरुको हेपाहा प्रवृत्ति । हामी जोगिएर बेच्छौं, किन्नेहरुले जोगिएर किन्नुपर्छ, यसरी कति जना व्यपारी र ग्राहहरुलाई छेक्ने खानु परेन, भोकै मर्नु ।
पद्मोदय छेउका दूध विक्री वितरण गर्ने एक जना भाइ भन्दै थिए, विहान ४, ५ बजेतिर त हेरिनसक्नु भीड थियो, यस्तै पारा हो भने बागबजार, न्युप्लाजा, डिल्लीबजार, पुतली सड्क, सिंहदरबारतिर सबै सोतर हुन्छन् । यहाँको बसाईअनुसार एक घरमा एक जनालाई भेट्यो भने पुरै घरका मानिसलाई भेट्छ ओ…हो… डरै लागेर आउँछ ।
सामाजिक दूरी कायम गर्दै चिया पिउँदै गफिएका ईलेक्ट्रिक पसलका विपिन भण्डारी, पत्रिका पसलका सरोज घिमिरे, होटल व्यवसायी सोवित खड्का, तयारी पोशाक उद्योग व्यवसायी शिव खड्काको भनाई भने सहज थियो । उनीहरु तरकारी बजार बन्दको विषयमा भन्दै थिए–’कोरोना नियन्त्रण वा न्युनिकरणको विकल्प बजार बन्द हैन, भोक र रोगले मानिस मर्नु भएन, व्यवसायीहरुले समाजिक दूरी कायम गरी विक्रि वितरण गर्ने र किन्ने उपभोक्ताहरुले माक्स लगाएर सामाजिक दूरी कायम गर्दै एकपछि अर्को पालोगरी किनिदिँदा समस्या आउँदैन, यो तरकारी बजारमा त्यो चाँही देखिएन ।’
बाजर बन्द गरेर भित्रका प्रत्येक पसल, सटर, कुना–काप्चाका ठाउँहरु र चारैतिरको बाटो (रोड) हरुमा गाडिबाट किटनाशक औषधि छरिएको थियो ।