Logo

कोरोनाले ह्वात्तै बढाइदिदैछ भ्याक्सिन बजार, वार्षिक ६० अर्ब डलर आर्जन हुने



प्रभात सिंहः सन् २०२० भित्र विश्व बजारमा भ्याक्सिनको बजारले झण्डै ६० अर्ब डलरको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ । जुन सन् २०१४ को भन्दा झण्डै दोब्बर हो ।

विश्व बजारमा भ्याक्सिनले गर्ने आय ५९ अर्ब २० करोड डलर हुने प्रक्षेपण जिअन मार्केट रिसर्चले गरेको हो । संयुक्त राज्य अमेरिकामा उत्पादिन भ्याक्सिनले मात्र १८ अर्ब डलर आर्जन गर्ने आँकलन गरिएको छ ।

विश्वमा इन्फ्लुन्जा, स्वाइन फ्लु, हेपाटाइटिस, टीबी, डिपथेरिया, इबोला र मेनिनगोकोला जस्ता रोगले बजारको आय बढाएको हो । भ्याक्सिनले शरीरमा रोगको कमजोर प्रकार प्रवेश गराइदिन्छ । जसका कारण एन्डीबडी अर्थात् रोग प्रतिरोधात्मक क्षमता शरीरले विकास गर्दछ । प्रभावकारी भ्याक्सिनले विफर, पोलियो जस्ता रोग उन्मुलन भएको छ । विश्वमा डेंगुको भ्याक्सिन पनि उत्पादन भइसकेको छ ।

भ्याक्सिनको विकास धमाधम भइरहँदा विश्वभर भ्याक्सिनविरुद्धको आवाज समेत उठ्ने गरेको छ । यद्यपि, भ्याक्सिनको विकास र प्रयोग बढेको छ ।

सन् २०२४ भित्र उत्तर अमेरिकाको भ्याक्सिन बजारको हिस्सा २४ अर्ब डलर हुने अनुमान गरिएको छ । युरोपको १६.३ अर्ब र एशियाको १२.८ अर्ब डलर हिस्सा रहने अनुमान छ ।

कोरोना भाइरसको संक्रमणका कारण भ्याक्सिनको बजार ह्वात्तै बढ्ने प्रक्षेपण गरिएको छ । विश्वभर एक सय ६० भन्दा बढी प्रकारका भ्याक्सिन विकासको क्रममा छ । जसमध्ये १९ वटा भ्याक्सिन पहिलो देखि तेस्रो चरणको परीक्षणका क्रममा छन् ।

रुसको गेमेलिया रिसर्चले उत्पादन गरेको स्पुतनिक भी तेस्रो चरणको परीक्षणमा हुँदै अनुमोदन भइसकेको छ । रुसको सरकारले प्रयोगका लागि अनुमोदन गरेपनि विश्व स्वास्थ्य संगठनले गरेको छैन ।

चीनको सिनोफामको इनएक्टिभेटेड भ्याक्सिन, सिनोभाकको कोरोनाभाक र क्यानसिनो बायोलोजिक्सको एडी फाइभ एन कोभ, अमेरिकाको मोर्डना तेस्रो चरणको परीक्षणका क्रममा छन् ।

अष्ट्रेलियामा परीक्षण भइरहेको भ्याक्सिन पनि दोस्रोबाट तेस्रो चरणको परीक्षणको क्रममा छ । अक्सफोर्ड भ्याक्सिन र फाइजर कम्पनिको भ्याक्सिन पनि भर्खरै तेस्रो चरणको परीक्षणको क्रममा छ ।

विश्वभर यति ठुलो संख्यामा भ्याक्सिन बनिरहँदा कतिपय देशहरुले कम्पनिहरुसँग सम्झौता समेत गरिसकेका छन् । भ्याक्सिन प्रभावकारी र उपयोगी भएमा प्रयोग गर्ने गरी सम्झौता गरेका हुन् । यसबाट कम्पनिहरुले करोडौं डलर आम्दानी गर्ने प्रक्षेपण छ । यसबाट अरबौं डलरको आयआर्जन हुने अनुमान छ ।-एजेन्सीको सहयोगमा Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्