काठमाडौं, १४ भाद्र । अवैध लागूऔषधसहित सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनसरी कोशी गाउँपालिका भाण्टाबारीबाट नियन्त्रित लागूऔषध १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्स सहित शर्मा पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै चितवनको राप्ती नगरपालिका चिप्लेटीबाट अवैध लागूऔषध २ केजी ५ सय ग्राम गाँजा सहित सोही नगरपालिकाका दिपक तितुङ शनिबार राति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले ना.४४ प ६९२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तितुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँकेको डुडुवा गाउँपालिका कमरासाबाट १० केजी लागूऔषध गाँजाको धुलो सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भे.४ प १२८८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिकाका गोरधुईका राम बहादुर चौधरी र मोटरसाइकल चालक कोहलपुर नगरपालिकाका बिसराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय बनकट्टी ’क’ बाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।