Logo

सामाजिक सुरक्षा कोषमा दोब्बर रकम जम्मा



काठमाडौं, भदौ १५ । पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै जाँदा बन्दाबन्दीको बीचमा मात्रै दोब्बरले रकम जम्मा भएको छ ।

बन्दाबन्दी अघिसम्म कोषमा ८५ करोड रुपैयाँ रहेकोमा अहिले एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले वैशाख, जेठ, असार अर्थात् बन्दाबन्दीभरको करीब ८६ करोड रुपैयाँ निकासा दिए पनि कोषमा जम्मा नभएकाले यो थपिन बाँकी छ ।

सामाजिक सुरक्षा कोष कार्यविधिअनुसार श्रमिकले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत कर्मचारीबाट र २० प्रतिशत रोजगारदाताले गरी ३१ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा निजीक्षेत्र मारमा परेकाले राहतस्वरूप बन्दाबन्दीभरको श्रमिक र प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम सरकारले बेहोर्ने घोषणा गरेको थियो ।

सोहीअनुसार कोषलाई अर्थले निकासा दिएको हो । अर्थले कोषलाई फागुन महीनाको भने यसअघि नै १८ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

जेठ १५ मा ल्याइएको चालू वर्षको बजेटमा सामाजिक सुरक्षा कोषमा दर्ता भएका श्रमिकको बन्दाबन्दी अवधिभर सरकारले रकम जम्मा गरिदिने घोषणा गरेको थियो । यसरी जम्मा भएको रकम व्यवसायीले सापटी लिएर अहिले तलब दिन सक्ने व्यवस्था मिलाइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्