Logo

मागअनुसार मल नपाउँदा किसानलाई सास्ती



विराटनगर, भदौ १५। सरकारी स्वामित्वको साल्ट ट्रेडिङले मागअनुसार रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले सास्ती भोग्नु परेको छ ।

धान पसाउने बेलामै मागअनुसार मल नपाएपछि मल वितरण केन्द्रहरूमा किसानको घुइँचो लाग्ने गरेको छ ।

सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादव २ महीना धाएपछि मात्र साल्ट ट्रेडिङबाट युरिया मल किन्न पाएको बताउँछन् ।

उनको गाउँका २ सय १७ जना किसान सम्मिलित चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेड छ । सहकारीले सबै किसानलाई दुई–दुई बोरा मल वितरण गर्दा पनि ४ सय ६८ बोरा आवश्यक पर्छ ।

उनीहरूको समूहको १७ सय ८५ हेक्टरमा धानखेती छ । कम्तीमा ४ सय बोरा मल आवश्यक पर्नेमा साल्ट ट्रेडिङले १ सय बोरा मात्र दिएपछि यादव चिन्तित छन् ।

‘१ सय बोराले कति किसानलाई मल बाँड्ने ?’ उनको गुनासो छ, ‘धान पसाउने बेला भइसक्यो । युरिया हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता त छँदै छ ।’

छिटाहाकै अर्का किसान सुरेन मेहता पनि मल किन्न नपाउँदा तनावमा छन् । दुई बिगाहामा लगाएको धानखेतीमा मल हाल्न नपाएपछि उत्पादन कम हुने चिन्ता थपिएको उनले बताए ।

‘मागअनुसार मल नपाउँदा धान नफल्ने चिन्ता एकातिर छ भने अर्कोतिर धानमा गवारो र डढुवा लागेर अर्को चिन्ता थपिदिएको छ’, मेहता भन्छन् ।

यस्तै, मोरङको ग्रामथान गाउँपालिका– ४ का किसान पन्नलाल विश्वास ३ दिनदेखि विराटनगरस्थित कृषि सहकारी संस्थामा धाइरहेका छन् । ३ दिनदेखि निषेधाज्ञा छिचोल्दै युरिया किन्न कृषि सहकारी संस्थामा धाइरहे पनि मल पाउन नसकिएको उनले गुनासो गरे ।

मलका लागि दिनभर लाइन बस्दा पनि कृषि सामग्री केन्द्र र विराटनगरस्थित साल्ट्र ट्रेडिङको आधिकारिक डिलर कदमाहा कृषि सहकारी संस्थाले नदिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्