काठमाडौं, १५ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर बिपी यादवले राजीनामा दिएपछि बिपी र राप्तीका उपकुलपतिबीच खुसियाली साटासाट भएको छ । बिपीबाट काजमा राप्तीको रेक्टर भएर गएका यादबले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगीता भण्डारीले गरेको अनियमितता पर्दा फास गरेका थिए । उनलाई बिपीको उपकुलपति ज्ञानेन्द्र गिरीमार्फत दबाब दिएर राप्तीको उपकुलपति भण्डारीले राजीनामा दिन बाध्य पारेकी हुन् । त्यसैको उपलक्ष्यमा भण्डारीले पार्टी दिएकी हुन् ।
भण्डारीका श्रीमान् प्राडा प्रल्हाद कार्की बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । रेक्टर यादवले राजीनामा दिएसँगै उनी प्राडा कार्कीको क्वाटर धरान पुगेर उपकुलपति गिरी, रजिष्ट्रार मोहनचन्द्र रेग्मीलगायतलाई बोलाएर पार्टी दिएको गिरी निकट स्रोतले बतायो । रेक्टर यादवले उपकुलपति भण्डारीले गरेको अनियमितताको पर्दाफास गर्दै आएका थिए ।
राप्तीमा भण्डारीले भ्रष्टाचार गरेको विषय उनले सिनेटमा नै उठाएका थिए । त्यही देखि उपकुलपति भण्डारी र रेक्टर यादवबीच चर्को विवाद र मतभेद रहँदै आएको थियो । उनलाई आवास पनि नदिई राप्तीबाट लेखेट्ने काम भएको आरोप लागेको छ ।
यता बिपीका रजिष्ट्रार रेग्मी स्थानीय व्यापारीद्वय सम्राट श्रेष्ठ र चेतन अग्रवालका साथै युवा संघका नेता पर्शुराम बस्नेतको खास मान्छे हुन् ।रजिष्ट्रार बन्नका लागि राजनीतिक लबिइङ गर्न व्यापारी श्रेष्ठ कै गाडीमा काठमाडौं आएका थिए । श्रेष्ठले धरानको छाता चौकको जग्गा व्यापारिक प्रयोजनका लागि लिने कोशिश गरिरहेका छन् । अग्रवालले पछिल्लो समय बिपीको मेडिकल उपकरण सप्लाईको महत्वपूर्ण ठेक्का हत्याएका छन् ।