Logo

यस्ता छन् मासु भन्दा पनि महंगा तरकारी



काठमाडौँ, १५ भदौ: पछिल्लो केहि दिन यता कुखुराको मासु निकै सस्तिएको छ । एक महिना अघि प्रतिकिलो ४०० नाघेको ब्रोइलर कुखुराको मासुको भाउ सोमबार २४० पुगेको छ ।

गुन्द्रुक भन्दा पनि मासु सस्तो भनेर केहि समययता सामाजिक संजालमा ब्रोइलर कुखुराको मासुको खिल्ली उडाइएको छ । तर गुन्द्रुक मात्र नभएर सामान्य तरकारीको मूल्य पनि मासु भन्दा धेरै रहेको छ । ब्रोइलर कुखुराको मासु भन्दा कालीमाटीमा तरकारी महंगो भएको सर्वसाधारणको गुनासो छ । कोभिड-१९ संक्रमणको जोखिम बढेसँगै सरकारद्वारा गरिएको निषेधाज्ञाका कारण हाल तरकारीको भाउ बढेको छ भने ब्रोइलर कुखुराको मासु निकै सस्तिएको छ । उत्पादनको तुलनामा खपत नभएपछि कुखुराको मासु सस्तिएको व्यवसायीहरु बताउँछन् । यस्तै मागको तुलनामा उत्पादन कम हुँदा तरकारी मूल्य भने बढेको छ ।

अहिले काठमाडौंको कालीमाटी बजारको सुची अनुसार बाेइलर कुखुराको मासु भन्दा कुन कुन तरकारी महंगो वा बराबरीमा छ त ?

गुन्द्रुकको नै चर्चा भइरहेको बेलामा गुन्द्रुकको थोक मूल्य कति छ ? हाल कुखुराको मासु भन्दा गुन्द्रुकको मूल्य बढि नै रहेको छ । गुन्द्रुक सोमबार उपत्यकाभर औषत २९५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । यस हिसाबले गुन्द्रुकको थोक मूल्य ब्रोइलर कुखुराको मासु भन्दा ५५ रुपैयाँले बढि छ ।

यस्तै मासु भन्दा अर्को महंगो रहेको तरकारीमा कुरीलो पनि पर्दछ । कुरीलो अहिले ३९५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । ब्रोइलर कुखुराको मासु कुरीलोको तुलनामा १५५ रुपैयाँले कम रहेको छ।

च्याउको थोक मूल्य पनि मासुको मूल्य भन्दा बढि नै भएको पाइएको छ । अन्य बेला पनि महंगो तरकारीका रुपमा चिनिने डल्ले च्याउ प्रतिकिलो २९५ रुपैयाँमा कारोबार भइरहेको छ जुन कुखुराको मासु भन्दा ५५ रुपैयाँले बढि हो ।

अर्को मासुको भाउकै बराबरीमा बिक्री भइरहेको तरकारी हो खुर्सानी । सोमबार हरियो अकबरे खुर्सानीको थोक मूल्य २३५ रुपैयाँ प्रतिकिलो रहेको छ । यो ब्रोइलर कुखुराको मासु भन्दा केवल पाँच रुपैयाँले कम हो । सुकेको खुर्सानीको थोक मूल्य भने मासु भन्दा निकै महंगो रहेको छ । यो मासु भन्दा ५५ रुपैयाँले धेरै रही प्रतिकिलो २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी मासु भन्दा केहि कम मूल्य रहेतापनि कागती सोही सरह खुद्रामा बिक्री भइरहेको छ । कागतीको थोक मूल्य किलोको १९० रुपैयाँ रहेको छ तर थोकमा भन्दा खुद्रामा मनपरी बिक्री गरिने भएकाले यसको मूल्य अझ उच्च हुन सक्नेछ । कोभिडका कारण भिटामिन सी खानुपर्ने भन्दै कागतीको माग अत्याधिक रहेको छ ।

यस्तै गोलभेडा, काउली, च्याउ, पुदीना, इमली, अदुवा, हरियो लसुन, हरियो धनिया, चाइनिज सुकेको लसुन र नेपाली सुकेको लसुन पनि हाल महंगो तरकारी र कुखुराको मासु भन्दा केहि कममा बजारमा उपलब्ध छ ।

माग, उत्पादन र आपुर्तिबिच समन्वय नहुँदा महामारीका समयमा अत्याधिक वस्तुको मूल्यमा उतार चढाव देखिएको छ । एकातर्फ कृषकको उत्पादन नबिक्ने समस्या छ भने अर्कातर्फ सुलभ मूल्यमा तरकारी किन्नबाट उपभोक्ता ठगिएका छन् ।-मेरोलागानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्